‘ब्ल्याकमेल’ मा लिप्त इन्सपेक्टरकाे विगत पनि ‘उत्पात’

‘ब्ल्याकमेल’ मा लिप्त इन्सपेक्टरकाे विगत पनि ‘उत्पात’

सामान्यतयाः हत्या, हिंसा, बलात्कार, हनिट्रयापजस्ता अपराधमा नेपाल प्रहरीले संवेदनशील भएर अनुसन्धान गर्दै आएको बताइन्छ । पीडकलाई सजाय दिलाउनु र पीडितलाई न्याय दिन पहल गर्नु पनि प्रहरीको कर्तव्य हो । तर, त्यही प्रहरी संगठनभित्रका जिम्मेवारले ब्ल्याकमेलिङ गरेर मुद्दा प्रभावित पार्न खोजे के हुन्छ ? 

यस्तै आरोप लागेको छ, प्रहरी निरीक्षक (इन्सपेक्टर) विनु शाहीमाथि । गत जेठ २८ गतेदेखि ललितपुरको भैँसेपाटीस्थित प्रहरी प्रभागको जिम्मेवारी सम्हालेकी उनी अहिले निलम्बनमा परेकी छन् । हनिट्रयापको घटनामा संलग्न व्यक्तिसँग बार्गेनिङ गरेर ३० लाख रकम लिएको आरोप लागेपछि ललितपुर प्रहरी परिसरले उनलाई निलम्बन गरेको छ । 

प्रभागमा परेको उजुरीलाई आधार बनाएर शाहीले आर्थिक अपचलन गरेको परिसरका एसपी नरेशराज सुवेदीले जानकारी दिए । यसबारे छानविन गर्न डिएसपी नरहरी अधिकारीको संयोजकत्वमा छानबिन समिति बनाइएको छ । 

‘एउटा घटनामा संलग्न व्यक्तिसँग पैसा अपचलन गरेको आरोपपछि निलम्बनको लागि प्रधान कार्यालयलाई पत्र पठाइसकेका छौं’, एसपी सुवेदीले जनआस्थासँग भने, ‘डिएसपीको संयोजकत्वमा बनेको छानबिन समितिले प्रतिवेदन तयार पारेपछि के कस्तो कारबाही गर्ने, त्यसपछि थाहा हुन्छ ।’ 

हनिट्रयापको घटनामा संलग्न व्यक्तिलाई बलात्कारको मुद्दामा फसाइदिने भन्दै शाहीले शुरुमा ब्ल्याकमेलिङ गरेको र पछि पैसा उठाएर पचाएको आरोप छ । उनका दुई जना आफन्तको बैंक खातामा आरोपित व्यक्तिले पैसा हालिदिएको प्रमाणसमेत भेटिएको एसपी सुवेदीले जानकारी दिए । 

शाही विवादमा तानिएको यो पहिलो पटक भने होइन । कञ्चनपुरमा कार्यरत छँदा पनि उनीमाथि पूर्वप्रहरी जवान राजेन्द्र नाथलाई यातना दिएको आरोप लागेको थियो ।

टिप्पणीहरू