गोर्खाजमा अध्यक्षको मनपरी,लाहुरेहरुको पैसा झिक्ने तयारी

गोर्खाजमा अध्यक्षको मनपरी,लाहुरेहरुको पैसा झिक्ने तयारी

गौरव बुढाथोकी कुनै बेला हेटौँडा वरपरका क्षेत्रमा बदनाम पात्रको रुपमा परिचित थिए । नेपाली काँग्रेसका जिल्ला सभापति इन्द्र बानियाँको व्यवसायमा लेखापालको जिम्मेवारीमा रहेको बेला बानियाँको नाममा असुली र अनियमितता मच्चाएपछि उनलाई एकाएक निकालिएको थियो ।

उनै बानियाँ अहिले गोर्खा सैनिकहरुको अधिक लगानी रहेको गोर्खाज फाइनान्सको हर्ताकर्ता बनेका छन् । १० हजार रुपैयाँ लगानी गरेर पब्लिकमार्फत् गोर्खाज फाइनान्स सञ्चालक समिति अध्यक्ष बनेका बानियाँको कारण ९३ प्रतिशत लाहुरेहरुको लगानी रहेको गोर्खाज फाइनान्स संकटउन्मुख देखिन्छ । गोर्खाजको चुक्ता पुँजी ८६ करोड ७९ लाख ९३ हजार रुपैयाँ छ भने जगेडा कोषमा १ अर्ब २ करोड ७८ लाख रुपैयाँ देखिन्छ । 

नेकपा (एमाले) का सांसद सूर्य थापाको नेतृत्वमा गठित संसदीय छानबिन विशेष समितिको निचोड छ, ‘सहकारीमा अपचलन भएको अधिकांश पैसा गोर्खा सैनिकहरुको हो ।’ फेरि उही बाटोमा लागेको छ, गोर्खाज फाइनान्स । 

कुनै बेला गोर्खा विकास बैंक लाहुरेहरुको लोभलाग्दो संस्थाको रुपमा सञ्चालनमा थियो । यो बैंकमा बेलायती सेनामा कार्यरत र अवकाशप्राप्त गोर्खाहरु, सिङ्गापुर प्रहरीमा कार्यरत र अवकासप्राप्त हजारौं लाहुरेहरुले लगानी गरेका थिए । तर राकेश अडुकियाको समूह उक्त बैंकमा हाबी भएपछि त्यसको खराब दिन सुरु भएको थियो । बैंकका तात्कालीन अध्यक्ष डिबी बम्जन, निर्मल गुरुङ राकेश अडुकियाको मतियार बनेका थिए । 

त्यही बैंक यसअघि समस्याग्रस्त बैंक काठमाडौं फाइनान्ससँग मर्जर भएर ‘ग’ वर्गको वित्तीय संस्था गोर्खाज फाइनान्स लिमिटेड बन्यो । प्रारम्भमा गोर्खाज फाइनान्सको अवस्था राम्रो थियो । तर बुढाथोकी छिरेपछि धरापमा परेको हो । अध्यक्ष बुढाथोकीले फाइनान्सलाई राम्रो गरेर लगानीकर्ताहरुलाई लाभांस दिने भन्दा पनि फाइनान्सभित्र व्यवस्थापन र कर्मचारीहरुबीच गुटबन्दी गर्ने, लगानीकर्ताहरुलाई पटक पटक निरुत्साहित गरेको बताइन्छ । सिङ्गापुरबाट अवकाशप्राप्त एक अधिकृतले भने, ‘मैले करोडभन्दा बढी लगानी गरेको छु, मेरो पेन्सन पनि त्यहाँको खातामा आउँछ । तर अध्यक्षले फाइनान्समा राजनीतिक दलमा जस्तो परिपाटी सुरु गर्नुभयो ।’

अध्यक्ष बुढाथोकीले सुरुमा सिइओ सन्तोषकुमार घिमिरेलाई प्रभावमा पारेर मनपरी गर्न खोजेका थिए । तर घिमिरले उनलाई साथ नदिएपछि घिमिरेविरुद्ध नै उत्रिए । ‘बुढाथोकीकै दबाबमा सिइओ घिमिरेलाई राजीनामा दिन बाध्य बनाउँदै अहिले आफू अनुकुलको सिइओ ल्याउने तयारी थालिएको छ,’ स्रोतले भन्यो ।

फाइनान्समा ९३ प्रतिशत लाहुरे र बाँकी मारबाडी समुदायको लगानी छ । तर बुढाथोकीले ती दुबै समूहलाई निर्णय प्रक्रियाबाट पूर्णतः अलग गरेर आफू अनुकुलको सिइओ ल्याउने तयारी गरेपछि परिस्थिति जटिल बन्दै गएको हो ।

लाहुरेहरु आक्रोशित

बुढाथोकीको मनपरीले सीमा नाघेपछि ९३ प्रतिशत लगानीकर्ता लाहुरेहरु आक्रोशित हुनु स्वाभाविक हो । उनीहरुले फाइनान्सको नेतृत्वमा आमूल सुधार र परिवर्तन नगरिए लगानी फिर्ताको अडान राखेका छन् । स्रोतका अनुसार त्यसका लागि काठमाडौं, धरान, पोखरा, हङकङ र सिङ्गापुरमा बेग्ला बेग्लै समूह खडा भएको छ । अध्यक्ष बुढाथोकीविरुद्ध नेपाल राष्ट्र बैंकलगायत सरकारी निकायहरुमा कारबाहीको माग गर्दै जाने उनीहरुको तयारी छ । सरकारी निकायले कारबाही प्रक्रिया अघि नबढाए लाहुरेहरुले आफ्नो लगानी अरु नै बैंकमा सुरक्षित गर्ने तयारीसमेत गरेका छन् ।

टिप्पणीहरू