माथिल्लो तामाकोशीमा पनि क्षति,दुई कर्मचारीको उद्धार

माथिल्लो तामाकोशीमा पनि क्षति,दुई कर्मचारीको उद्धार

अविरल वर्षाले माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा पनि क्षति पुगेको छ । दोलखाको बिगु गाउँपालिका–१, लामाबगरस्थित ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाँध क्षेत्रका संरचना (हेडवर्क्स)मा क्षति पुगेको बताइन्छ । 

तामाकोशी नदीमा पानीको बहाव उच्च भएपछि हिजो साँझदेखि विद्युत् उत्पादन बन्द गर्नुका साथै जोखिम न्यूनीकरणका लागि बाँधका सम्पूर्ण ढोका खुल्ला गरिएको छ । बाँधस्थलभन्दा तलको नियन्त्रण कक्ष,बालुवा थिग्ग्रयाउने पोखरी (डिस्याण्डर) र बाँधबाट डिस्याण्डरसम्म पानी पुर्याउने नहर (कल्भर्ट) मा क्षति पुगेको छ । नियन्त्रण कक्ष, डिस्याण्डर र कल्भर्टभन्दा माथिबाट खसेको पहिरोका कारण ती संरचनामा ठूलो क्षति पुगेको अनुमान छ । 

आयोजनाको प्रवर्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावर लि.का प्रमुख कार्यकारी अधिकृत (सिइओ) मोहन गौतमले विद्युतगृह रहेको स्थान गोंगरबाट बाँधसम्मको प्रवेश मार्गमा रहेका खोलाहरुमा बाढी आएका कारण कोही पनि त्यहाँसम्म पुग्न नसकेकोे बताए । 

पहिरोका कारण जलाशय क्षेत्रमा ठूलो परिमाणमा ढुङ्गा,लेदो थुप्रिएको छ । नियन्त्रण कक्षमा रहेका दुई जना कर्मचारीको उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा उद्धारमा लामाबगरस्थित नेपाली सेना,नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ । 

तामाकोशी आयोजनाको डिजाइन डिस्चार्ज (पानीको बहाव) ६६ क्युमेक हो । बिहानदेखि तामाकोशी नदीको बहाव बाँधस्थलमा ४६१ क्युमेक पुगेको छ ।

नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत् खरिद बिक्री सम्झौताबमोजिम नदीमा पानीको बहाव २५० क्युमेक पुगेपछि विद्युतगृह बन्द गर्नुपर्छ । हिजो दिउँसो ४ बजेपछि नदीमा पानीको बहाव २५० क्युमेक नाघेको थियो । त्यसैले साँझ ७ बजेदेखि विद्युत् उत्पादन पूर्ण रुपमा बन्द गरिएको हो ।

टिप्पणीहरू