बाढी, पहिरो र डुबान (अपडेट) : उपत्यकामा २१ जनाको निधन, पाँच बेपत्ता

बाढी, पहिरो र डुबान (अपडेट) : उपत्यकामा २१ जनाको निधन, पाँच बेपत्ता

अविरल वर्षापछिको बाढी पहिरो र डुबानमा परेर राजधानी उपत्यकाका तीन जिल्लामा हालसम्म २१ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार पाँच जना बेपत्ता छन् भने नौ जना घाइतेको उपचार भइरहेको छ ।

हालसम्म साढे सातसय जतिको उद्धार गरिएको र पाँच हजार नेपाल प्रहरी परिचालन भएको जनाइएको छ । उद्धारका लागि नेपाल प्रहरीसँग जम्मा दुई वटा डुंगा भएकाले ठमेलस्थित र्याफ्टिङ कम्पनीहरुसँग मागेर आठ वटाबाट काम चलाइएको बुझिएको छ । सरकारले ठूला कुरा गरेपछि प्लास्टिकको डुंगासमेत पर्याप्त नजुटाइदिँदा ३६ घण्टाको झरीले पुर्याएको क्षति न्यूनीकरणमा सहयोग पुर्याउन नसकेको प्रहरीको भनाई छ ।

प्राप्त विवरणअनुसार काठमाडौंमा नौ जनाको मृत्यु, आठ घाइते, एक जना बेपत्ता र ४२० जनाको उद्धार गरिएको छ । चार वटा घर भत्केको छ भने २२६ घर डुबानमा परेको छ । काठमाडौंमा नेपाल प्रहरीका तीन हजारभन्दा बढी जनशक्ति खटिएको छ ।

ललितपुरमा नौको मृत्यु भएको छ भने २८१ को उद्धार गरिएको छ । ललितपुरको होचो स्थानका अधिकांश घरमा बाढीको पानी पसेको छ । ललितपुरमा नेपाल प्रहरीका नौ सय जना र सशस्त्र प्रहरी बलका ३० जना उद्धारमा खटिएका छन् ।

उता भक्तपुरमा तीन जनाको मृत्यु, घाइते एक जना र बेपत्ताको संख्या चार पुगेको छ । हालसम्म २७ जनाको उद्धार गरिएको छ । भक्तपुरको एउटा घर भत्किएको छ भने धेरै घरमा पानी पसेको छ । भक्तपुरमा झण्डै डेढ सय प्रहरी जनशक्ति खटेको बताइन्छ ।

टिप्पणीहरू