अमेरिका जाँदै गरेका आप्रवासीहरुमाथि मेक्सिकोमा गोली प्रहार, छ जनाको मृत्यु

अमेरिका जाँदै गरेका आप्रवासीहरुमाथि मेक्सिकोमा गोली प्रहार, छ जनाको मृत्यु

मेक्सिको सैनिकहरूले गोली चलाउँदा ग्वाटेमालाको सीमानामा छ जना आप्रवासी मारिएका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार गएराति सीमा पार गर्न खोजेको एउटा ट्रकमाथि सैनिकहरुले गोली चलाएका थिए । 

उक्त ट्रकमा रहेका ३३ जना आप्रवासीमध्ये चार जनाको घटनास्थलमा र दुईजनाको उपचारको क्रममा मृत्यु भएको समाचारमा जनाइएको छ । उक्त ट्रकमा इजिप्टियन, नेपाली, क्युबाली, भारतीय, खाडी मुलुक र पाकिस्तानी नागरिक रहेको बताइन्छ । 

उक्त घटनालाई मेक्सिकोको रक्षा मन्त्रालयले पनि पुष्टि गरिसकेको छ । मेक्सिको छिर्ने उक्त सीमानामा अधिकांश आपराधिक समूहसँग सुरक्षाकर्मीको भीडन्त भइरहन्छ । मेक्सिको सरकारले पनि आपराधिक समूह ठानेर सीमानामा तैनाथ सैनिकले गोली चलाएको जनाएको छ । तर उनीहरूसँग कुनै हात हतियार नभएको सुरक्षा निकायले जनाएको छ । 

दक्षिण अमेरिकी महाद्विपको पानामा, कोस्टारिका, निकरागुवा, होन्डुरस, ग्वाटेमाला र मेक्सिको हुँदै अमेरिका छिर्ने अधिकांश आप्रवासीहरूको रुट हो । 

उक्त घटनामा अरु १० जना घाइते भएका छन् । ट्रकमा रहेका बाँकी आप्रवासीहरूलाई मेक्सिकोको अध्यागमन विभागको जिम्मा लगाइएको छ । मारिनेमध्ये चारजना पुरुष, दुईजना महिलामध्ये एकजना बालिका रहेको सुरक्षा निकायले जनाएको छ । 

उक्त घटनाको आप्रवासी तथा श्रमिक अधिकारमा क्रियाशील विभिन्न सातवटा अन्तर्राष्ट्रिय संघ संस्थाहरूले निशस्त्र आप्रवासीहरूमाथि गोली हानिएको भन्दै निन्दा गरेका छन् । मेक्सिकोले सीमामा तैनाथ सैनिकले झुक्किएर नभइ आप्रवासीहरूलाई छिर्न नदिने नीतिअनुरुप उनीहरूलाई रोक्न गोली चलाएको आधिकारिक रुपमा बताएको छ ।

टिप्पणीहरू