अमेरिका छेउ मारिनेमा नेपाली त परेनन् ?

अमेरिका छेउ मारिनेमा नेपाली त परेनन् ?

मेक्सिकन सैनिकहरूले गोली चलाउँदा ग्वाटेमालाको सिमानामा ६ जना आप्रवासी मारिएका छन्। समाचार एजेन्सी रोयटर्सका अनुसार बुधबार राति सिमाना पार गर्न खोजेको एउटा ट्रकमाथि सैनिकले गोली चलाएका थिए। 

उक्त ट्रकमा ३३ जना आप्रवासी थिए । तीमध्ये चार जना घटनास्थलमा र दुईजनाको उपचारको क्रममा मृत्यु भएको समाचारमा जनाइएको छ। उक्त ट्रकमा इजिप्टियन,नेपाली, क्युवाली,भारतीय,खाडी मुलुक र पाकिस्तानी नागरिकसमेत थिए।

उक्त घटनालाई मेक्सिकोको रक्षा मन्त्रालयले पनि पुष्टि गरिसकेको छ । मेक्सिको छिर्ने यो सिमानामा अधिकांश आपराधिक समूहसँग सुरक्षाकर्मीको भिडन्त भइरहन्छ। मेक्सिको सरकारले पनि आपराधिक समूह ठानेर सिमानामा तैनाथ भएका सैनिकले गोली चलाएको जनाएको छ । तर उनीहरूसँग कुनै हातहतियार नभएको सुरक्षा निकायले जनाएको छ। 

तल्लो बाटोबाट अधिकांश आप्रवासीहरू पानामा,कोस्टारिका, निकारागुवा,होन्डुरस,ग्वाटेमाला भएर  मेक्सिको हुँदै अमेरिका छिर्ने रुट हो । 

याे घटनामा अरु १० जना घाइते भएका छन् । ट्रकमा रहेका बाँकी आप्रवासीलाई मेक्सिकन अध्यागमन विभागकाे जिम्मा लगाइएकाे छ । 
मारिनेमध्ये चारजना पुरुष छन् । दुईजना महिलामध्ये एकजना बालिकासमेत रहेकाे सुरक्षा निकायले जनाएकाे छ । 

सैनिकले आपराधिक समूह ठानेर गोली चलाएकाे भनिएपछि आप्रवासी तथा श्रमिक अधिकारमा क्रियाशील विभिन्न सात वटा अन्तर्राष्ट्रिय संघसंस्थाले निशस्त्र आप्रवासीहमाथि गोली हानिएकाे भन्दै घटनाकाे निन्दा गरेका छन्। 

उनीहरूले सिमानामा तैनाथ भएका सैनिकहरूले झुक्किएर नभई आप्रवासीहरूलाई छिर्न नदिने नीतिअनुरुप उनीहरूलाई राेक्नका लागि गाेली चलाएकाे दाबी गरेका छन् ।

टिप्पणीहरू