घरमै यौनधन्दा चलाउने महिला पक्राउ, चार बालिकाको उद्धार

घरमै यौनधन्दा चलाउने महिला पक्राउ, चार बालिकाको उद्धार

नाबालिगलाई बन्धक बनाई आफ्नै घरमा यौनधन्दा चलाएको आरोपमा एक महिला पक्राउ परेकी छन् । 

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–४ मूलपानी बस्ने नुवाकोटकी ४३ वर्षीया सीता गोतामे उक्त अभियोगमा प्रहरी नियन्त्रणमा पुगेकी हुन् । उनले आफ्नो घरमा भाडा माझ्ने र सरसफाईको काममा लगाउने र मासिक २९ हजार रुपैयाँ तलबसँगै खानबस्ने व्यवस्था गरिदिने भनेर नाबालिगलाई वेश्यावृत्ति काममा लगाएको प्रहरीको आरोप छ । 

पीडितको कमजोर आर्थिक अवस्थाको फाइदा उठाएर घरबाट बाहिरसमेत निस्कन नदिई वेश्यावृत्ति गर्न बाध्य पारिएको अनुसन्धानबाट खुल्न आएको छ । प्रहरीका अनुसार उनले बालिका तथा युवतीसँग शारीरिक सम्पर्क राखेको प्रतिग्राहक एक हजारदेखि तीन हजार रुपैयाँसम्म बुझ्ने गरेको पाइएको छ । 

घरमा बालिका तथा युवतीहरु राखी एकै जनालाई दैनिक चार-पाँच जना पुरुष ग्राहकसँग जबरजस्ती शारीरिक सम्पर्क राख्न बाध्य बनाउने गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ । 

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको छ । उनको घरबाट चार जना बालिका तथा युवतीको उद्धार पनि गरिएको प्रहरीले जानकारी दिएको छ । 

साथै, सीतामाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान जारी राखेको जनाइएको छ ।

टिप्पणीहरू