युवा इन्जिनियरहरुलाई चिनियाँ उच्च प्रविधिको ज्ञान
रविना श्रेष्ठ
छिमेकी मुलुक चीनले ‘ट्रेनिङ्ग कोर्स अन इन्टेलिजेण्ट म्यानुफ्याक्चरिङ फर द योङ इन्जिनियर्स अफ द बेल्ट एण्ड रोड कन्ट्रिज’ शीर्षकमा दुई दिने अनलाइन कक्षा हालै सञ्चालन गरेको छ । ‘भिओओभि’ चिनियाँ एपमार्फत सञ्चालित उक्त कक्षा सफलतापूर्वक सम्पन्न भएको छ । कार्यक्रममा नेपालबाट एक सय बढीको सहभागिता थियो ।
अन्य मुलुकबाट पनि ठूलो संख्यामा सहभागी थिए । चीनको उत्पादन प्रविधि, सूचना प्रविधि, कृत्रिम बौद्धिकता, स्वचालन प्रणालीको विकास र प्रयोगबारे जानकारी गराउने उद्देश्यले आयोजित उक्त कार्यक्रमले विशेषगरी नेपालजस्ता विकासशील देशहरुको औद्योगिक विकास र प्राविधिक सुधारमा सकारात्मक प्रभाव पार्ने सम्भावना प्रस्तुत गरेको छ ।
कार्यक्रममा म स्वयम् पनि सहभागी थिए र मलाई यो कार्यक्रम निकै प्रभावकारी लाग्यो । उत्पादन प्रविधिको बारेमा गहिरो जानकारी दिएर आफ्नो देशमा सो प्रविधिको प्रयोग र व्यवस्थापनको माध्यमबाट औद्योगिक समृद्धि र आधुनिकीकरणमा योगदान पुर्याउन प्रेरित गर्नु कार्यक्रमको मुख्य उद्देश्य देखिन्छ ।
कार्यक्रममा बिग डाटा, क्लाउड कम्प्युटिङ, आर्टिफिसियल इन्टेलिजेन्स, इन्टरनेट अफ थिंग्सजस्ता प्रविधिहरुको महत्व र उनीहरुको उत्पादन प्रणालीमा भएको प्रयोगबारे व्यापक छलफल गरिएको थियो । यसले हाम्रोजस्तो देशमा पनि प्राविधिक संरचनाको सुधार र विकासको लागि नयाँ दिशा प्रदान गरेको छ ।
तालिमको आयोजना सेञ्जेन एसोसिएसन फर प्रमोटिङ इन्टरनेसनल इकोनोमिक एण्ड टेक्नोलोजिकल अपरेसनले गरेको हो । यो संस्थाले अन्तर्राष्ट्रिय आर्थिक र प्राविधिक सहकार्यलाई प्रोत्साहित गर्नुका साथै विकासशील देशहरुलाई औद्योगिक र प्राविधिक क्षेत्रमा मार्गदर्शन प्रदान गर्दै आएको जनाएको छ ।
सन् २०२३ सम्म संस्थाले १८४ वटा सेमिनारको आयोजना गर्दै पाँच हजारभन्दा बढीलाई तालिम दिएको बताइन्छ । आफ्नै डिजिटल प्लेटफर्ममार्फत कार्यक्रम गरेर संस्थाले चीनले आफ्नो उत्पादनलाई कति महत्व दिएको छ भन्ने प्रष्ट भएको छ । चीनले विश्वभरका प्रयोगकर्ताहरुसँग एउटै नेटवर्कमा सहकार्य गर्ने सुविधा प्रदान गरेको छ । आफ्नो प्राविधिक अग्रता र आर्थिक प्रभावलाई थप विश्वव्यापी बनाउन चीन प्रयासरत रहेको बुझ्न सकिन्छ ।
नेपाल र चीनबीचको दीर्घकालीन द्विपक्षीय सम्बन्धलाई बलियो बनाउन र सामूहिक समृद्धि ल्याउन यो तालिमले महत्वपूर्ण भूमिका खेल्न सक्छ । कार्यक्रमले नेपालको औद्योगिक क्षेत्रको आधुनिकीकरणमा सहयोग पुर्याउने र स्मार्ट उत्पादन प्रविधिहरुको प्रयोगका माध्यमबाट नयाँ सम्भावनाहरु खोल्ने अवसर प्रदान गरेको छ । चीनको ‘साझा समृद्धि’ को दृष्टिकोणसँग मेल खाने यो तालिमले नेपाललाई प्राविधिक विकासको मार्गमा लैजाने एक नयाँ अवसर प्रस्तुत भएको छ ।
कार्यक्रममा भाग लिएका नेपाली सहभागीहरुले चीनको प्राविधिक विकासका नयाँ आयामहरुको बारेमा गहिरो ज्ञान प्राप्त गरेका छन् भने आफ्नो देशमा यस प्रकारका प्रविधिहरुको प्रयोगका लागि रणनीतिहरु तयार गर्ने प्रेरणा पाएका छन् ।
टिप्पणीहरू