पोखरामा छुटेकै दिन बुटवलमा मुद्दा तयार
सुप्रिम सहकारी घोटालामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिललाई बुझाएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलले उक्त सहकारीको बचत हिनामिना सम्बन्धमा गरेको लामो अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा आज प्रतिवेदन पेश गरेको छ । जिबी राई अध्यक्ष रहेको गोर्खा मिडिया नेटवर्क प्रालिमा सहकारीको रकम गैरकानुनी ढंगले प्रवाह गरेको आरोपमा प्रहरीले उक्त कम्पनीका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक पूर्वडीआईजी छविलाल जोशीसमेतलाई प्रतिवादी बनाउनुपर्ने राय दिएको छ ।
यसअघि रकम अपचलनको आरोपमा दुवैसँग सरकारी वकिलको रोहबरमा प्रहरीले बयान लिएको थियो ।
पोखराको सूर्यदर्शन सहकारी ठगी काण्डमा मुद्दा चलाइएका लामिछानेलाई हिजो साँझ जिल्ला अदालत कास्कीले ६५ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश गरेबमोजिम राति नै छुटिसकेका छन् । सहकारी ठगीमै उनीविरुद्ध काठमाडौँमा मुद्दा चलिरहेको छ भने चितवन र पर्सामा पनि मुद्दा प्रक्रियामा छ । आज पोखराबाट हिँडेका रवि आइतबार जिल्ला अदालत काठमाडौैंमा उपस्थित हुने बताइएको छ ।
टिप्पणीहरू