वनस्पति घिउमा ट्रान्स फ्याट बढी पाइए कारबाही
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले वनस्पति घिउ वा तेलमा ट्रान्स फ्याट बढी भएमा कारबाही गर्ने निर्णय गरेको छ । विभागले ट्रान्स फ्याट दुई प्रतिशतभन्दा बढी भएको पाइएमा कारबाहीको चेतावनी दिएको छ ।
वनस्पति घिउ तथा आंशिक रुपमा हाइड्रोजिनेटेड गरिएको वनस्पति तेल र यस्ता पदार्थ प्रयोग गरी उत्पादन, सञ्चय वा बिक्रीवितरण गरिने खाद्य पदार्थमा पनि ट्रान्स फ्याटको मात्र अनिवार्य रुपमा लागू गर्न भनिएको छ ।
जारी सूचनामा, ‘खाद्य पदार्थको लेबलमा ऐन नियमबमोजिम लगाउने लेबल वितरण साथै अनिवार्य रुपमा ट्रान्स फ्याटको मात्र समेत उल्लेख गर्नुपर्ने छ,’ विभागद्धारा जारी सूचनामा उल्लेख छ । लेबलमा ट्रान्स फ्याटरहित भनी दाबी गरिएको हकमा सो खाद्य पदार्थमा रहेको चिल्लो पदार्थमा ट्रान्स फ्याटको मात्र ०.२ ग्रामप्रति एक सय ग्रामभन्दा बढी हुन नहुने,’ उल्लेख छ ।
विभागले सबै खाद्य उत्पादक, आयातकर्ता, सञ्चयकर्ता तथा बिक्री वितरणकर्तालाई सोबमोजिम गर्न गराउन आग्रह गर्दै अटेर गरेमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही गर्ने जनाएको छ ।
ट्रान्स फ्याट एक प्रकारको अति हानिकारक चिल्लो पदार्थ हो । स्वास्थ्यका दृष्टिकोणले यसलाई चिल्लो पदार्थमध्ये सबैभन्दा हानिकारक मानिन्छ । यसले कम उमेरका मानिसमा समेत हृदयाघात र मस्तिष्कघातको समस्या निम्त्याउँछ ।
टिप्पणीहरू