जताततै लत्रिएका बिजुलीका तार, सर्वसाधारणको ज्यान बर्बाद

जताततै लत्रिएका बिजुलीका तार, सर्वसाधारणको ज्यान बर्बाद

सोमबार ताप्लेजुङमा सडकमा लत्रिएको बिजुलीको तारले चार जनाको ज्यान लियो । सदरमुकामबाट दर्शनार्थीहरु लिएर पाथीभरातर्फ जाँदै गरेको मे. १ च ३०११ नम्बरको जीप फुङलिङ नगरपालिका–१०, सेवारो चोक भन्ने स्थानमा लत्रिएको बिजुलीको तारमा अल्झिएर आगो लाग्यो । 

दुर्घटनामा झापाको भद्रपुर नगरपालिका–१५, का ७० वर्षीय विनोद पौडेल, उनकी श्रीमती ६९ वर्षीया सरिता पौडेल, नातिनी १६ वर्षीया आध्या आचार्य र चालक ताप्लेजुङ फुडलिङ–१०, का ४२ वर्षीय दुर्गा भट्टराईले ज्यान गुमाए । विनोदकी छोरी ललितपुर महानगर–१०, बस्ने ४५ वर्षीया सविना आचार्य र उनको दश वर्षीया छोरा भविमय पनि घाइते भएकोमा दुवैको उपचार भइरहेको छ । 

ताप्लेजुङको यो घटना झट्ट हेर्दा दुर्घटना देखिएपनि राज्य पक्षको लापरबाहीले अनाहकमा नागरिकले ज्यान गुमाउनुपरेको छ । एकातिर जथाभावी बिजुलीका तार छोडिदिने, अर्कोतिर बाटोको दयनीय अवस्थाले यो घटना भएको देखाउँछ । लत्रिएका तारको समयमै व्यवस्थापन नगर्नुका साथै खाल्डाखुल्डी पुर्न ध्यान नदिने सरकारी प्रवृत्तिले दुर्घटना निम्त्याइरहेको छ । 

विडम्बना, सरोकारवाला निकायहरु यसप्रति गम्भीर भएका देखिदैँनन् । सरकारी लापरबाहीका कारण नागरिकले अनाहकमा ज्यान गुमाउनुपरेको यो पहिलो घटना भने होइन । यसअघि पनि पटकपटक लत्रिएका र सडकमा छरपस्ट विद्युतका तारले कयौंको ज्यान लिइसकेको छ । 

२०८० चैत १० गते दाङको राप्ती गाउँपालिका–३, स्थित नेपाल विद्युत प्राधिकरणको हाइटेन्सन लाइनको तार चुडिएर घरको आँगनमा खस्दा एकै परिवारका तीन जनाको ज्यान गयो । घरको आँगनमा उभिएको अवस्थामा एक्कासी चुँडिएको तारले चार वर्षीय नाति कृष्णलाई करेन्ट लागेपछि बचाउन जाँदा हजुरआमा ५५ वर्षीया दिलसरा केसी र हजुरबुवा ६० वर्षीय गोरखाबहादुर केसीको समेत निधन भएको थियो । 

०८० साउन २ गते ललितपुरको गोदावरी नगरपालिका–५, लेले सौरभर्याङ बस्ने २६ वर्षीय राजु सिङताङको मर्निङ वाक गर्न जाने क्रममा घर नजिककै बाटोमा लत्रिएको बिजुलीको तारबाट करेन्ट लाग्दा मृत्यु भयो । त्यसको एक वर्षअघि धादिङको थाक्रे गाउँपालिका–१, बस्ने ४३ वर्षीया निर्मला घर्ती क्षेत्रीले पनि बाटोमा हिँड्दा हाइटेन्सन लाइनको करेन्ट लागेर ज्यान गुमाइन् । 

बारीमा मकै गोडेर घर फर्किँदै गर्दा उनलाई करेन्ट लागेको थियो । झापाको अर्जुनधारा नगरपालिका–६, बस्ने ४५ वर्षीया सावित्रा विकको पनि ०७८ भदौमा बाटोमा हिडिँरहँदा ट्रान्सफर्मरको अर्थिङ गरिएको तारले शरीरमा छोएपछि करेन्ट लागेर निधन भयो । करेन्टले उनको काँधको भाग नै डढेको थियो । 

मुलुकमा पछिल्लो समय छिटो–छिटो तार टुट्ने, शर्ट हुने र बिजुलीको झट्का लाग्ने घटना बढिरहेका छन् । सडकमा लत्रिएका विद्युतका तार, टेलिफोन लाइन र अन्य संरचनाहरुको अनियन्त्रित व्यवस्थापनले निरन्तर जोखिम बढाइरहेको छ । माथि उल्लेखित घटना केही प्रतिनिधिमूलक मात्रै हुन् । 

घर बाहिर निस्कनाबाट कतै टुक्रिएका त कँही गुजुल्टिएर डल्लो बनेको तार देखिने गर्छ । अधिकांश स्थानमा विद्युतीकरण नभएका तारहरु भुईंमा छरपस्ट हुन्छन् । जसले शहरलाई कुरुप त बनाएकै छ, सँगै त्यसमा अल्झिएर भएका दुर्घटना पनि धेरै छन् ।

विद्युतीय तारहरु समेत अव्यवस्थित रुपमा राखिएको देखिन्छन् । कतिपय ठाउँमा तारहरु नजिकैबाट छुन सकिने अवस्थामा भेटिन्छन् । जसले आगलागीको जोखिम बढाइरहेको छ । अर्को कुरा, तारहरु झुण्डिएर सडकसम्म आइपुग्दा पनि धेरै दिन त्यतिकै छाड्ने गरिएको छ । 

यसले त्यहाँ आउजाउ गर्दा खतरा हुनुसाथै त्यसमा परेर अकालमै नागरिकले ज्यान गुमाउनुपरिरहेको छ । अव्यवस्थित रुपमा राखिएका तारले प्राकृतिक प्रकोपको समयमा अझ बढी खतरा निम्त्याउँछ । बाढीपहिरो, भूकम्प, आँधीबेरी आउँदा तार टुट्ने र समयमै मर्मत नहुँदा ठूलो जनधनको क्षति हुने गरेको छ । बजार क्षेत्रमा अलपत्र तारले संरचना निर्माण, सडक विस्तार र अन्य विकासका कार्यमा बाधा पुग्ने गरेको छ ।

पुराना तार, इन्सुलेटर र केबलहरुले वातावरणीय प्रदूषण पनि बढाएको छ । यति मात्रै नभई, अव्यवस्थित तारले बिजुलीको ह्रास बढाउँछ । लोडसेडिङको समस्या हुनसक्छ । तर, यस विषयमा सरोकारवाला निकायहरु भने चनाखो भएको देखिँदैनन् । बारम्बार एउटै घटना दोहोरिँदासमेत तालुक निकाय विद्युत प्राधिकरण र स्थानीय सरकार सुधारतर्फ लागेको पाइँदैन । 

ताप्लेजुङको दुःखद् घटनापछि अहिले काठमाडौं उपत्यकामा निर्माणाधीन भूमिगत विद्युतीय तार प्रणालीको विश्वासनीयतामाथि समेत प्रश्न उठेको छ । यस घटनाले भूमिगत पाइप लाइन प्रणालीको स्थायित्व र सम्भावित जोखिमबारे थप अध्ययन आवश्यक भएको देखिएको छ । किनकि सानो लापरबाहीले समेत भविष्यमा ठूलो जनधनको क्षति हुने खतरा बढ्दो छ ।

दुर्घटनाले भएको क्षतिप्रति गम्भीर र संवेदनशील भएका छौंः प्राधिकरण 

नेपाल विद्युत प्राधिकरणले लत्रिएका तारले हुँदै आएका जनधनको क्षतिप्रति गम्भीर रहेको भन्दै आवश्यक काम गरिरहेको दाबी गरेको छ । प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकार त्यस्ता समस्या देखिएका स्थानमा काम भइरहेको बताउँछन् । 

‘नाङ्गो तारलाई ढाक्ने र व्यवस्थित गर्ने काम गरिरहेका छौं । बजेटले भ्याएसम्म समस्या देखिएका स्थानमा काम हुन्छ ,’ उनले भने, ‘प्राधिकरणको तारबाट हुने क्षतिप्रति हामी गम्भीर छौं । आउँदो दिनमा यस्ता घटना नदोहोरियोस् भन्ने गरी काम गरिरहेका छौं ।’

प्रवक्ता शिल्पकारले ताप्लेजुङ घटनामा प्राधिकरणको दोष नरहेको जनाउँदै त्यस्ता घटनालाई मध्यनजर गरी अझ संवेदनशील भएको बताए । दुर्घटनामा ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति दिने उनको भनाइ छ । उनले भने, ‘ताप्लेजुङ घटनाले हामीलाई दुःखी बनाएको छ । यसले हामीलाई थप संवेदनशील र जिम्मेवार बनाएको छ । मृतकका परिवारलाई बीमाबमोजिम क्षतिपूर्ति र राहत उपलब्ध गराइनेछ ।’

ताप्लेजुङमा भएको घटना दुर्घटना नै भएको जनाउँदै प्रवक्ता शिल्पकारले थपे, ‘दुर्घटनाको अघिल्लो राति त्यहाँ हावाहुरी र चट्याङसहित पानी परेको रहेछ । चट्याङले बिजुलीको पोलमा फलामे पिनमा अल्झाएर राखिने तारलाई च्यानलबाट तल झारिदिएछ ।’

यद्यपि, तार जमिनमा नछोएको हुनाले पोलमार्फत प्रवाह हुने ठाउँमा विद्युत अवरुद्ध नहुँदा थाहा नपाएको उनको ठहर छ । भने, ‘बत्ती गएको भए प्राधिकरणका कर्मचारी तत्कालै खटेर समस्या समाधान गरिन्थ्यो । तर, विद्युत अवरुद्ध नभएपछि केही थाहा भएन । बिहान गुडेको गाडीमा हावाले लत्रिएको तारले छोइँदा मात्रै थाहा भयो ।’

टिप्पणीहरू