‘मलाई बदनाम गर्न खड्गप्रसाद बनाएका थिए, आफैँ खुस्किए’

‘मलाई बदनाम गर्न खड्गप्रसाद बनाएका थिए, आफैँ खुस्किए’

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू र आफ्नो पार्टीमाथि हमला गर्ने काम भइरहेको गुनासो गर्नुभएको छ ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेतृत्वलाई बदनाम गराएर एमालेलाई कम्जोर बनाउने प्रयत्न चलिरहेको बताउनुभएको हो । प्रत्येक घटनामा आफूलाई जोडेर कुप्रचार गरिएको प्रम ओलीको जिकिर छ ।

विद्या भट्टराईले शिक्षामन्त्रीबाट राजीनामा दिएको प्रसंग कोट्याउँदै भन्नुभयो, ‘एउटा मन्त्रीले राजीनामा गर्दा देख्नुभयो, प्रधानमन्त्रीले असहयोग गरेर कहाँबाट थाहा पायो । प्रधानमन्त्रीले असहयोग गरेको । प्रधानमन्त्रीले सहयोग गरेर, अनेक ढंगले अघि बढाउन खोजेको देखेन । असहयोग गरेको भन्छन् । जसरी होस् लिडरसिपमाथि हमला । जसरी होस् लिडरसिपलाई कमजोर पार्ने ।’

जसरी पनि आफूमाथि हमला गर्ने कामको नेतृत्व फटाहाहरुले गरिरहेको प्रधानमन्त्री ओलीको दाबी छ । त्यस सन्दर्भमा उहाँले कम्बोडिया प्रकरणलाई दृष्टान्तसमेत बनाउनुभयो । आफ्नो नागरिकताको नाम खड्गप्रसाद ओली होला भन्ने ठानेर विदेशमा लगानी गरेको भन्ने बिलमा खड्गप्रसाद ओली लेखिएको ओलीको तर्क छ ।  

उनीहरु कतिसम्म झुक्किए भने मैले केपी शर्मा ओली भन्ने गरेको । मेरो नाम चाहिँ खड्गप्रसाद ओली हो । नागरिकतामा त्यही होला । त्यसो भएर त्यहाँको पैसा राखेको बनाउँदा त नागरिकताअनुसार, पासपोर्टको नामअनुसार बनाएको हुन्छ । त्यसमा खड्गप्रसाद ओली होला भनेर बिल पनि खड्गप्रसाद ओलीका नाममा बनाएर, बाठो भएर’, प्रम भन्नुहुन्छ, ‘बिना नागरिकता, बिना पासपार्ट त राख्दैन । नक्कली नाममा त राख्दैन । त्यहीँ विचराहरु खुस्किए । यस्ता फटाह कुराहरु गर्न जानि जानि बाहेक । नजानिकन यस्तो हुन्छ ।’

हाल प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईंले कम्बोडियाको टेलिकममा ओलीको अर्बौँ लगानी रहेको भन्दै केही डकुमेन्ट सार्वजनिक गरेका थिए । नक्कली भनिएको उक्त कागजातमा ओलीको नाम 'खड्गप्रसाद ओली' लेखिएको थियो ।  

यस्तो काम स्थापित फटाहाले मात्र गर्न सक्ने प्रम ओलीको दाबी छ । कसैको नाम उल्लेख नगरी भन्नुभयो, ‘यि सब चिनिएका, जानिएका, मानिएका फटाहा हुन् । त्यस्ताहरुकै अगुवाईमा, नेतृत्वमा यि कामहरु भएको छ ।’
 

टिप्पणीहरू