नेपाली पत्रकारलाई चिनियाँ भाषाको प्रमाणपत्र

नेपाली पत्रकारलाई चिनियाँ भाषाको प्रमाणपत्र

काठमाडौँमा आयोजित चिनियाँ भाषा तालिमका सहभागीलाई प्रमाणपत्र वितरण गरिएको छ । 

काठमाडौँ विश्वविद्यालय,कन्फ्युसियस इन्स्टिच्युट र नेपाल-चाइना मिडिया फोरमको संयुक्त आयोजनामा गत पुस २ देखि चैत १८ गतेसम्म निःशुल्क रूपमा भाषा प्रशिक्षण सञ्चालन गरिएको थियो । आज एक औपचारिक कार्यक्रमका बीच सहभागीलाई प्रमाणपत्र दिइएको हो । 

तालिमका क्रममा प्रा.डा.जोन श्रेष्ठ (ता लोङ) र अध्यापिका चाङ खोङ वेले चिनियाँ भाषामा दैनिक व्यावहारिक विषय,चिनियाँ वर्णमाला ( फिनयिन र हान्च), गीतसङ्गीतबारे प्रशिक्षण दिनुभएको थियो । 

नेपालका विभिन्न सञ्चारमाध्यममा कार्यरत ३८ पत्रकार सम्मिलित तालिम समापन कार्यक्रममा फोरमका अध्यक्ष किशोर श्रेष्ठ र इन्स्टिच्युटका निर्देशक प्रा. डा.स्वाङ  छेङले काठमाडौँ युनिभर्सिटी, सोसाइटी अफ म्यानेजमन्ट,बालकुमारी (कुसोम) मा प्रमाणपत्र प्रदान गर्नुभयो । 

सो अवसरमा अध्यक्ष श्रेष्ठले नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सवका अवसरमा दुई देशबीचको सम्बन्धलाई जनस्तरमा विकास गर्न यस्ता कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । चिनियाँ भाषा बोल्न र सामान्य रूपमा लेख्न दक्ष नभएसम्म प्रशिक्षणलाई निरन्तरता दिइने पनि उहाँले बताउनुभएको छ । 

इन्स्टिच्युटका निर्देशक प्रा.डा.लिले चीन र चिनियाँलाई नजिकबाट बुझ्न भाषा जान्नैपर्ने जनाउँदै भविष्यमा पनि यस्ता तालिम सन्चालन गर्दै जानुपर्ने बताउनुभयो । इन्स्टिच्युटका प्रा.छिउ क्वाङ्मिन (कृष्ण) ले चिनियाँ भाषा प्रशिक्षणले दुई देश र जनताबीचको सम्बन्ध अझ प्रगाढ भएको स्पष्ट पार्नुभयो । प्रशिक्षार्थीका तर्फबाट पत्रकार अमृतनाथ तिमिल्सिनाले नेपाली पत्रकारलाई चीनबारेको पहिलो सूचना थाहा पाउन  चिनियाँ भाषा नै चाहिनेमा जोड दिँदै प्रशिक्षण निकै लाभदायक एवं अर्थपूर्ण भएको बताउनुभयो ।

सो अवसरमा प्रशिक्षणमा सहभागी नेपाली सञ्चारकर्मी सजना तिमिल्सिना, मनुका कुँवर र विद्या भट्टटराईले चिनियाँ र नेपाली संस्कृति झल्कने गीत र नृत्य प्रस्तुत गरेका थिए ।

टिप्पणीहरू