तीनकुनेमा जमघट निषेध गराउन  सरकारलाई निर्देशन

तीनकुनेमा जमघट निषेध गराउन  सरकारलाई निर्देशन

प्रतिनिधि सभाको कानुन,न्याय तथा मानव अधिकार समितिले राजधानीको तीनकुने क्षेत्रमा सभा,विरोध प्रदर्शन र धर्नाका कार्यक्रम हुन नदिन सरकारलाई निर्देशन दिएको छ । गत चैत १५ गते राजावादी आन्दोलनको क्रममा भएको मानव अधिकार उल्लङ्घनको घटनाबारे छलफल गर्न चैत २९ गते बसेको समितिको बैठकले तीनकुनेमा त्यस्ता कार्यक्रम गर्न नदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देश गरेको हो ।  विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईँ ‘कमाण्डर’ तोकिएको उक्त प्रदर्शनमा विध्वंश मच्चिएको थियो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगजनीको प्रयाससमेत भयो । तीनकुने संवेदनशील स्थान भएको निष्कर्ष निकाल्दै बैठकले त्यहाँ कुनै किसिमको कार्यक्रमका लागि अनुमति नदिन भनेको छ । निर्णयमा भनिएको छ,‘उक्त तीनकुने स्थानको नजिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा नेपाल आयल निगमजस्ता संवेदनशील क्षेत्र भएकाले आगामी दिनमा सो क्षेत्रमा सभा, विरोध,प्रदर्शन र धर्ना आदि कार्यक्रम गर्न अनुमति नदिन नेपाल सरकार,प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देश गर्दछ ।’

त्यसैगरी, आन्दोलनका क्रममा मानव अधिकारको उल्लङ्घन गर्नेहरुमाथि कडा कारबाही गर्न निर्देशन दिइएको छ । बैठकमा सांसद महेशकुमार बर्तौला, पूर्णबहादुर घर्ती,सन्तोष परियार, ध्रुवबहादुर प्रधान,शेरबहादुर कुँवर,चन्द्रबहादुर विश्वकर्मा, रामकुमार राई,प्रतिक्षा तिवारी, जीवन परियार,नागिना यादव, नैनकला थापा,गोमा लाभ (सापकोटा) ले आ–आफ्नो धारणा प्रस्तुत गरेका थिए । गृहमन्त्री रमेश लेखकले सांसदहरुले राखेको जिज्ञासामा जवाफ दिएका हुन् ।

टिप्पणीहरू