असन्तुष्टि पोख्ने काँग्रेसको तयारी, एमाले प्रतिवादमा उत्रँदै
गत शुक्रबार संसदमा प्रस्तुत आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रममाथि आजदेखि छलफल हुँदै छ । बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममाथि छलफलका लागि प्रस्ताव गर्नुहुने छ ।
यता सत्तारुढ दल नेपाली काँग्रेसका केही सांसदले नीति तथा कार्यक्रममा असन्तुष्टि पोख्ने संकेत दिइसकेका छन् । अस्ति बसेको काँग्रेस संसदीय दलको बैठकमा नै उनीहरुले छनक दिइसकेका छन् । काँग्रेस नेतृत्वले उनीहरुलाई थामथुम पारेर तदर्थ खालको निर्णय गर्दै नीति तथा कार्यक्रममा आलोचनात्मक समर्थनको बिल्ला भिराइदिएको छ ।
काँग्रेसी सांसदहरुले एमालेले तय गरेको यसअघिको ‘समृद्ध नेपाल सुखी नेपाली’ नारामाथि आपत्ति जनाएका छन् । काँग्रेसले ‘समुन्नत नेपाल सम्मानित नेपाली’ नाराको माग गर्दै आएको छ । राष्ट्रपति र प्रधानमन्त्रीसँग जोडिएका अधिकांश परियोजना र कार्यक्रमलाई राष्ट्रिय नामाकरण गरिएकोमा पनि काँग्रेसले असन्तुष्टि जनाएको छ ।
काँग्रेसीहरुले चीनसँग गरिएको बीआरआइ सम्झौतामा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको नाममा विश्वविद्यालय निर्माणको सम्झौता भएकोमा आपत्ति जनाइएको छ । सभापति देउवाले रचनात्मक सुझाव राख्न सांसदहरूलाई निर्देशन दिए पनि आजदेखि संसद बैठकमा संस्थापन पक्षभन्दा बाहिरका सांसदहरु चर्को रुपमा प्रस्तुत हुने लक्षण देखिएको छ ।
यता नेकपा एमालले भने काँग्रेसको आन्तरिक विवादलाई राष्ट्रिय राजनीतिमा नमिसाउन सुझाव दिएको छ । हिजो बसेको पार्टी सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।
पार्टीको आन्तरिक विषयलाई राष्ट्रिय राजनीतिमा मिसाउन नहुने काँग्रेसलाई एमालेको सुझाव छ । काँग्रेस सांसदहरुले नीति तथा कार्यक्रमलाई एमालेकरण गरिएको भन्दै चर्को विरोधमा उत्रिए एमाले सांसदहरुले त्यसको प्रतिकार गर्ने तयारी छ ।
टिप्पणीहरू