प्रचण्डलाई राति लाँकुरीभञ्ज्याङबाट अस्पताल ल्याइयो
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गएराति शौचालयमा लडेर घाइते हुनुभएको छ । उहाँ हिजो राति शौचालयमा लडेका कारण उपचारको क्रममा टाउकोमा ३ वटा टाँका लगाइएको छ ।
शौचालयमा लडेपछि उहाँलाई रातारात मेडिसिटी अस्पताल ल्याएर सवा १२ बजे उपचार गरिएको थियो । राति नै घर फर्कनुभएका उहाँको अवस्था सामान्य रहेको बताइन्छ ।
हिजो दिउँसो २ बजे पारिवारिक जमघट क्रममा ललितपुरको लाँकुरी भञ्ज्याङ पुग्नुभएको बुझिएको छ । पारिवारिक भेटघाटमा उतै खानपिन र रमाइलो गरिरहनुभएका उहाँ साँझसम्म ठीकै हुनुहुन्थ्यो ।
शौचालयमा लड्दा कमोडको धारमा ठोक्किएकाले टाउकोमा केही टाँका लगाइएको छ । उहाँको उमेर, व्यस्ततालाई ध्यान नदिइएको हिजोको घटनाले पुष्टि गर्छ । घर्कंदो उमेरका प्रचण्ड पार्टीभित्र सबैभन्दा धेरै व्यस्त देखिनुहुन्छ । केही महिनादेखि देश दौडाहामा रहनुभएकाले पनि उहाँको राजधानी आउजाउ उत्तिकै बाक्लिएको छ ।
यता, मुलुकको राजनीतिमा देखिने गरेको उतारचढावमा उहाँ सबैभन्दा बढी सक्रिय हुने गर्नुभएको छ । पार्टीभित्रका कतिपय समस्या समाधानमा पनि उहाँ निरन्तर खट्ने गर्नुभएको छ । राजनीतिक खपतका लागि देश दौडाहामा उहाँले खाने गर्नुभएका कतिपय भोजन पनि उमेर र स्वास्थ्यसँग मेल नखाएको हुनसक्ने आकलन छ ।
टिप्पणीहरू