एक दुई तारेको बिदाई,दुईको काज सरुवा

एक दुई तारेको बिदाई,दुईको काज सरुवा

नेपाली सेनाका एक जना उपरथीको आजबाट बिदाई भएको छ । कार्यरथी दिपककुमार बानियाँ पदावधिको हदले निवृत्तिभरणमा अवकाश पाएर घर गएका हुन् । सैनिक ऐन, २०६३ को दफा १७ उपदफा (२)(अनुसूची–४) बमोजिम आगामी जेठ २३ गतेदेखि अवकाश प्राप्त गर्ने उनलाई आजबाट बिदामा बस्न लगाइएको हो । 

२०७५ पुस ३ गते पि.एस.ओज.को बैठकले रथीवृन्द अवकाश हुनुपूर्व अनिवार्य १५ दिनअगावै बिदा दिने निर्णय गरेको उल्लेख गर्दै सेनाले उनलाई सैनिक सेवा नियमावली, २०६९ को नियम ९८ को व्यवस्थाबमोजिम बुझबुझारथ गर्न लगाएर बिदा दिएको बताएको छ । ब्याच नम्बर १७७० भएका उनको ठाउँमा सैनिक संगठन निर्देशनालयका निर्देशक ब्याच नम्बर २३४७ भएका सहायक रथी दिवशराज रेग्मी आएका छन् । 

दुई उपरथीको काज सरुवा

सेनाले दुई उपरथीको काज सरुवा गरेको छ । हिजोबाट लागू हुनेगरी दुई जनाको काज सरुवा र नियुक्ति गरिएको सेनाले जानकारी दिएको छ । जसमा उपरथी पवनराज घिमिरे र किरण केसी रहेका छन् । पूर्वी पृतना हेडक्वार्टरका उपरथी घिमिरे निरीक्षणाधिकृत विभाग पुगेका छन् । ब्याच नम्बर १८५६ भएका उनलाई निमित्त निराक्षणाधिकृतको जिम्मेवारी दिइएको छ । त्यसैगरी, ब्याच नम्बर १९७८ भएका उपरथी केसी घिमिरेको ठाउँमा आएका छन् । उनलाई पूर्वी पृतना हेडक्वार्टरको निमित्त पृतनापतिमा काज नियुक्ति गरिएको हो ।

टिप्पणीहरू