सगरमाथा चढ्ने सशस्त्रलाई सम्मान
विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी फर्केका सशस्त्र प्रहरीका असई दन्तबहादुर छत्याल र पूर्व हवल्दार अक्कलबहादुर बोहरा सम्मानित भएका छन् ।
आइतबार चुचुरोमा टेकेर फर्केका उनीहरुलाई नेपाल पूर्व सशस्त्र प्रहरी संघले बधाई ज्ञापन तथा सम्मान गरेको हो । दुर्गम जिल्ला हुम्ला र मुगुमा जन्मेर एकैसाथ प्रहरीमा भर्ना भएका र सँगै तालिम सम्पन्न गरेका दुई जनाले आइतबार बिहान ९ बजे सगरमाथाको चुचुरोमा सशस्त्रको झण्डा फहराएका थिए ।

म्याराथन धावक भई थुप्रै पदक जित्न सफल पूर्व प्रहरी बोहोरा हाल स्पेनमा व्यवसाय गर्दै आएका छन् । उनले आफ्नै पहलमा रकम जिताएर जन्मस्थलो मुगुका सडक,स्कूल, धर्मशाला, पाठ्यपुस्तक लगायतका क्षेत्रमा पाँच करोड बराबरको सहयोग गरेका छन् ।
आजको सम्मान कार्यक्रममा पूर्व आइजीपी सनतकुमार बस्नेत,शैलेन्द्रकुमार श्रेष्ठ,सिंहबहादुर श्रेष्ठ लगायत पूर्व एआइजी,डिआइजी, संघका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो ।
सोही अवसरमा सशस्त्र प्रहरी पूर्व संघले अघि बढाउन लागेको घातक रोग उपचार तथा राहत कोषको लागि उनै अक्कलबहादुर बोहोराले रु. १ लाख २ हजार २ सय रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

टिप्पणीहरू