बिआरआई र नेपाल–चीन सम्बन्धबारे पूर्व राष्ट्रपति भण्डारी
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी चिनफिङको दूरदर्शी दृष्टिकोण र अग्रगामी पहलबाट बेल्ट एन्ड रोड इनिसियटिभ्स (बीआरआई) ले विश्वव्यापी सम्पर्क र आर्थिक सहयोगलाई प्रवद्र्धन गरेको बताउनुभएको छ । उहाँले एसिया, अफ्रिका र युरोपसम्म सडक, रेल, बन्दरगाह, पाइपलाइन र डिजिटल पूर्वाधार विस्तार गर्नु नै बीआरआई पहलको मुख्य लक्ष्य भएको उल्लेख गर्नुभएको छ ।
चीन भ्रमणको क्रममा हिजो बेइजिङबाट कान्सु प्रान्तको डुन्ह्वाङ पुगेपछि आज आयोजित सभ्यताहरूबीको आदान प्रदान र पारस्परिक सिकाइ सम्बन्धी चौथो संवाद कार्यक्रमलाई मुख्य वक्ताकारुपमा सम्बोधन गर्नुभएको हो । आफ्नो सम्बोधनमा उहाँले बीआरआईले प्राचीन सिल्क रोडलाई पुनर्जीवित, विस्तार र नवीकृत गर्ने लक्ष्य राखेको उल्लेख गर्नुभयो ।
चीनको उक्त कार्यक्रमले सहभागी मुलुकबीच पारस्परिक समझदारी र सहयोगलाई बढवा दिने उहाँको भनाइ छ । सिल्क रोड आदान प्रदानमा नेपालले पनि ऐतिहासिक रूपमा चीन र भारतबीचको सांस्कृतिक तथा व्यापारिक माध्यामको रुपमा महत्वपूर्ण भूमिका निर्वाह गरेको सन्दर्भ उठाउनुभएको छ ।
उहाँले सन् २०१६ मा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा सैद्धान्तिक सहमति भएको, सन् २०१७ मा फ्रेमवर्क सम्झौतामा हस्ताक्षर गरेपछि नेपाल औपचारिकरुपमा बीआरआईमा आबद्ध भएको सन्दर्भ उठाउनुभएको छ । ‘गत डिसेम्बरमा प्रधानमन्त्री ओलीको चीन भ्रमणमा पुनःबीआरआई सहयोग फ्रेम वर्कमा हस्ताक्षर गरिएको छ,’ पूर्व राष्ट्रपतिले भन्नुभयो ।
बीआरआईअन्तर्गत हिमालय सीमापार बहु–आयामिक सम्पर्क सञ्जाल र विकास साझेदारी एवम् साझा भविष्यको प्रमुख अंग रहेको र राष्ट्रपति सी ले भनेझैँ नेपाल र चीनबीचको समझदारीले भूपरिवेष्ठित राष्ट्र नेपाललाई भूजडित राष्ट्र बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उहाँको दाबी छ । भन्नुभयो, ‘यो नेपाल–चीन सम्बन्धमा एउटा कोशेढुंगा हो ।’
पूर्व राष्ट्रपति भण्डारीले सन् २०१९ को अक्टोबरमा भएको चिनियाँ राष्ट्रपति सीको ऐतिहासिक नेपाल भ्रमणको स्मरण गर्दै त्यस बखत दुई मुलुकहरू विकास र समृद्धिका लागि नेपाल–चीन सम्बन्धलाई रणनीतिक साझेदारीमा रूपान्तरण गर्न सहमत भएको सन्दर्भ पनि मन्तव्यमा जोड्नुभएको छ । सन् २०१९ मै चीन भ्रमणको क्रममा पूर्व राष्ट्रपति भण्डारीले दोस्रो बेल्ट एन्ड रोड फोरमलाई सम्बोधन गर्नुभएको थियो ।
चिनियाँ अन्तर्राष्ट्रिय समझदारी संघ तथा कान्सु प्रान्त जनसरकारद्वारा संयुक्तरुपमा आयोजित रेसम मार्गको मूल भावनालाई आत्मसात् गर्दै विश्व सभ्यता पहल कार्यान्वयनलाई गति प्रदान गर्न सहकार्य जुटाउन आयोजित चौथो संवादलाई सम्बोधन गर्ने पूर्व राष्ट्रपति भण्डारीले उत्तर दक्षिण रेसम मार्ग (सिल्क रोड) शाखाहरूको संगमविन्दु डुन्ह्वाङ सभ्यताहरू सम्बन्धी संवाद आयोजनाका लागि उत्तम स्थल रहेको उल्लेख गर्नुभयो ।
टिप्पणीहरू