चितवनमा धमाधम अवैध घरेलु मदिरा नियन्त्रणमा

चितवनमा धमाधम अवैध घरेलु मदिरा नियन्त्रणमा

चितवन प्रहरीले अवैध घरेलु मदिरा धमाधम नियन्त्रणमा लिइरहेकाे छ । गत जेठ ११ गते राति साढे आठ बजेतिर खैरहनी–८, मगनीचोकस्थित भित्री सडक खण्डबाट प्रहरीले सय लिटर भन्दा बढी अवैध घरेलु मदिरा समाएको थियो । इलाका प्रहरी कार्यालय खैरहनीबाट एरिया डोमिनेशन गर्न निस्किएको प्रहरी निरीक्षक प्रदिप महत सहितको सिभिल टोलीले त्योबेला सडकछेउमा ओसारपसार भइरहेको अवस्थामा एकसय २० लिटर घरेलु मदिरा नियन्त्रणमा लिएको थियो । 

अस्ति सोमबारमात्र पनि साँझ साढे ६ बजेको समयमा कालिका नगरपालिका–५, खगेरी पुलस्थितमा प्रहरी बिट पदमपुरबाट प्रहरी नायब निरीक्षक विजय डिम्डुङ्गको कमाण्डमा खटिएको चेकिङ टोलीले ५० लिटर अवैध घरेलु मदिरा समाएको छ । चेकजाँचको क्रममा भरतपुर–११ की ४० वर्षीया विमला लामाको साथबाट ओसारपसार भइरहेको अवस्थामा उक्त मदिरा नियन्त्रणमा लिइएको हो । 

रक्सीको कारणबाट समाजमा झैझगडा, मारपिट लगायत घरेलु हिंसाका घटना हुँदै आएको अवस्थामा सवारी दुर्घटनामा पनि मापसे एउटा प्रमुख कारण रहेको छ । पछिल्लो समय मोटरसाईकलहरु आफैं अनियन्त्रित भएर दुर्घटना हुने क्रम पनि अकल्पनीय रुपमा बढ्दै गएको छ । बाइकहरु किन आफैं अनियन्त्रित भई दुर्घटनाग्रस्त भइरहेका छन् त ? एउटा तीव्रगति र अर्काे मदिरा सेवन नै प्रमुख कारणको रुपमा देखिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी रबिन्द्र खनाल बताउँछन् । ‘जाँड खाए जीउले सक्दैन, ओभरस्पिड मेसिनले सक्दैन’, उनले भने ।

यसैगरी, नेपाली समाजमा अहिले डरलाग्दाे रुपमा बढ्दै गइरहेको आत्महत्या सम्बन्धी रिपोर्टिङको सिलसिलामा हिजो मनोचिकित्सक डा. खगेन्द्र काफ्लेसँग कुराकानी गर्दा आत्महत्याका घटनामा पनि रक्सी सेवन एउटा कारणको रुपमा रहेको उनले बताए । पछिल्लो समय नेपालमा अनपेक्षित रुपमा आत्महत्याको घटना बढ्दै जाँदा नेपाल प्रहरीले यसको शोध अध्ययन प्रतिवेदनसहित आत्महत्या न्यूनीकरण तथा व्यवस्थापनका लागि अहिले विशेष कार्ययोजनासमेत ल्याएको अवस्था छ ।

टिप्पणीहरू