यसरी हट्छ जातीय विभेद

यसरी हट्छ जातीय विभेद

अबदेखि परियार, विश्वकर्मा, नेपालीजस्ता कथित तल्लो जात जनिने थर लेख्दै आएकाहरुले आफ्ना सन्तानको जन्मदर्ता गर्दा श्रेष्ठ, सापकोटा, पौडेल, कँडेल, क्षत्री आदि लेख्न थालौं त ! केही वर्षपछि नेपालबाट जातीय विभेद पूरै मेटिनेछ । त्यही थर लेखिने शब्दकै आधारमा जातको पहिचान लादिएको छ हैन हाम्रो समाजमा ? त्यसैलाई बदलौं न, कुरै खत्तम ! थरको आधारमा कायम रहेको जातीय विभेदलाई प्रस्ट रुपमा थर फेरेरै मेटाउन सकिन्छ ।

केही दिनअगाडि पोखराको पीएन क्याम्पसका शिक्षकले नै विद्यार्थीलाई त्यही थरको आधारमा जातीय रुपमा अपहेलना गरेको पाइयो । व्यवस्थापन संकायअन्तर्गत एमबिए फाइनान्सको अवलोकन भ्रमणका क्रममा शिक्षक डा. देवीलाल शर्माले परियार थर लेख्ने विद्यार्थी अमनलाई अपमानजनक शब्द प्रयोग गर्दै ‘जात नभएको, तँ दमै के गर्न सक्छस् गर !’ भन्ने जस्ता वचन लाउँदै अत्यन्त निकृष्ट रुपमा अपमानजनक गालीगलौज गरेको पाइयो । घटना बाहिरिएपछि क्याम्पसबाट ती शिक्षकको बर्खास्ती त भयो, तर त्यो एउटा प्रतिनिधिमूलक घटना थियो । त्यसले अझैपनि हाम्रो समाजमा जातीयताको नाममा गलत विचार भएका मानिसहरु उपल्लो तहमै छन् भन्ने प्रस्ट्याउँछ ।

थरकै आधारमा जातीय विभेदका यस्ता अपमानजनक र दुव्र्यवहारका पीडादायी घटनाहरु नेपाली समाजमा अहिले पनि अनेक रुपमा यत्रतत्र भइनै रहेका छन् । यदि नवराजको पछाडि विक नभएर दलित जनिने बाहेकका अरु नै थर लेखिएको हुन्थ्यो भने चार वर्षअघि रुकुमपश्चिमको चौरजहारीमा त्यो बर्बर घटना हुने थिएन । तर, त्यही विक थरले नै दलित चिनारी दिएकोले उनी र उनका साथीहरु मारिए । जातीय हिंसामा परेर नवराजसहित छ जनाको ज्यान गएको थियो । समाजमा यस्ता घटना भोलि फेरि नहोला भन्न सकिन्न । 

आज पनि थरकै आधारमा कथित उपल्लो जातकाहरुले विक, परियार थर लेख्नेलाई छोरी दिन मान्दैनन् । दलित थर भिरेका केटी गैरदलित परिवारले बिहे गरेर घरमा हुल्न मान्दैन । अझै पनि 'पानी नचलाउने' सोचले समाजमा जरो गाढेर बसेको छ । यसर्थ पनि थर फेर्न जरुरी छ । हुन त काम न काज केवल थरकै आधारमा उचो कहलिन पाएकाहरुलाई यो कुरा नपच्ला, तर पीडितहरु अब कुनैपनि हालतमा यो दलितको घेरोमा बाँधिएर बस्नुहुन्न । आजैदेखि बदलौं आफ्नो पहिचान । केवल एउटा शब्दले पहिचान फेरिन्छ भने किन नफेर्ने ?

अहिले पनि समाजमा धेरै गैरदलित भनिने मान्छेहरुले मुखले नभनेपनि मनदेखि होच्याउने र अलग्याउने गर्दै आएका छन् । कतिपय जनप्रतिनिधिहरुबाटै प्रस्टरुपमा जातीय विभेद हुने गरेको छ भने आम मानिसको के कुरा ? अरुलाई गिराएर ठूलो पल्टिन उद्यत छन् यहाँ हरकोही । अझै पनि तिम्रो नाम के हो ? भनी सोध्नेहरुलाई अगाडिको नाममात्रै भन्दा थरचाहिँ के हो भनी सोधिहाल्छन् । जाबो थरमा के होला है ? तैपनि जातीय पहिचान मानेर सोध्ने प्रवृत्ति समाजमा उस्तै छ । यस्ता जात्यन्धहरु समाजमा अझै स्याउँस्याउँती छन् । नयाँ राष्ट्रिय परिचयपत्रको लागि समेत विवरणमा अनिवार्य जसरी जातीय पहिचान भर्न लगाइएको छ । त्यही जातको कारण समाजमा विभेद भइरहेछ, जातीयताले गर्दा मानिसहरु अझै हेलाहोचोको अवस्थामा छन् भन्ने जान्दाजान्दै नीति-निर्माताहरुबाट जातलाई नै प्राथमिकतामा राखेर राष्ट्रिय पहिचान बनाइनु पीडितका लागि दुर्भाग्यपूर्ण भएको छ । 

कथित दलित समुदायका कतिपय मानिसहरु नै आफ्नो वंश वा पुर्खाको पहिचान लुकाउनु हुन्न, थर फेर्नुहुन्न भन्ने गलत धारणा पालेर बसेका छन्, यसैले गर्दा समाजमा समस्या ज्यूँकात्यूँ छ । आनुवंशिकता त नामथरै नलेखेपनि व्यक्तिको रगतमा सञ्चारित भएर पुस्तान्तरण भइरहने कुरा हो । थर भनेर लेखिने शब्दमा केही पनि छैन, खालि विभेदमात्र छ, यो कुरा सबैले जानौं, मनैदेखि मानौं । आज र अहिल्यैबाट यो दलित भनी चिनाउने थरलाई सबैले मेटाउन थालौं । आफ्ना नयाँ सन्तानको जन्मदर्ता गर्ने बेलामै कुनै अर्काे राम्रो थर लेखाऔं, ताकि भविष्यमा थरको कारण समाजमा ऊ हीनभावकासाथ बाँच्न नपरोस्, दुव्र्यवहारकोे शिकार नहोओस् । अतः अब कसैले पनि त्यो दलित थरको कलंक आफ्ना सन्तानमा नथोपरौं । नडामौं कलिला सन्तानलाई । निर्दाेष बच्चालाई सानैदेखि जातीय रुपमा कलंकित नबनाऔं । सबैले अबका दिनमा थर बदल्दै जाऔं, बदल्दै जाऔं । 

कानुनीरुपमा त जातीय विभेद अन्त्य भएको भन्ने गरिन्छ । तर त्यही कानुन वा संविधानले अहिले पनि थरको आधारमा जातीय पहिचान लादेर, दलित–गैरदलित वर्ग छुट्याएर जातीयताको भेदलाई उसैगरी संरक्षण गरिराखेको छ । १९१० को मुलुकी ऐनबाट पानी नचल्ने र छोइछिटो हाल्नुपर्ने भनी समाजमा अछूत मानिएको थरहरुलाई फेरि विशेष अधिकारको नाममा दलितको टोकरीमा राख्दै गर्दा उसैगरी नीच वर्गकै रुपमा समाजमा परिभाषित भइरहेछन् । दलित शब्दको नाममा विभिन्न संघ–संगठन र समितिहरु बनाएर त्यसभित्रकै केही टाठाबाठालाई लोभलाभमा पारी अगाडि सारी विभेदको पर्खाल उसैगरी बलियो बनाइएको छ । त्यसरी थरको आधारमा दलित भनेपछि हिजोका अछूत वा पानी नचल्ने जात हुन् भन्ने समाजमा सधैं भइरहन्छ । त्यसैले थर बदलौं ।

विगतमा जे जति थिचोमिचो र अमानवीय घटना भए, ती भइसके । भोग्नेले भोगिसके । कोही कुटिए, कोही मारिए । जताततै पानी बारिए, आँगन छेकिए । अब पनि त्यही कुरालाई उछालेर आरक्षणको नाममा दलित–गैरदलित बीच भिन्नता राखिनु भनेको उही विभेदकै जग कायम गरिनु हो । अहिलेको नौलो परिवेशमा कुनै थरको आधारमा जात र जातको आधारमा कोटा होइन, हरकोही मानिस जो आर्थिक, सामाजिक र राजनीतिक रुपले पछाडि छ, उसलाई अगाडि बढाउन सहयोग गर्ने नीति लिइनुपर्छ । दलित, आदिवासी, सीमान्तकृत, पिछडिएका जाति भनेर त्यही थरलाई नै पृथक देखाएर, होचो मानेर नीति बनाइनु ठिक छैन । 

हिजो सानो जातिको अर्थमा लेखिँदै, लेखाइँदै आएका निश्चित थरहरुलाई दलित भनेर अपहेलित वर्गकै रुपमा जबसम्म राखिनेछ, राज्यबाट अलिअलि विशेष सुविधा पाएजस्तो देखिएपनि समाजमा सदा अपहेलित वर्गकै रुपमा तिनको पहिचान स्थापित भइरहनेछ । त्यसैले अब थर नै फेर्न जरुरी छ । 

त्यही थरको आधारमा दोस्रो दर्जाको जस्तो बिल्ला भिरेर अझै कति पुस्तासम्म उकुसमुकुस जीवन बाँचिरहने हँ ? मन त छ नि सबैलाई – यो बिल्ला हटोस् मेटियोस् भनेर । तर थर फेर्न पाइँदैन होला भन्ने भ्रम धेरैमा व्याप्त छ । किनकि अहिलेसम्म परिवार, समाज र राज्यले त्यही बाबुआमाको थर लेख्न सिकाउँदै आयो र हामीले पनि गर्नैपर्ने त्यही हो झैं ठानेर अनुसरण गर्दै आयौं । अरु गर्न हुँदैन, पाइँदैन होला भन्ने हामीले बुझ्यौं र बुझाउँदै आयौं । अनि आफ्ना निर्दाेष बालबालिकालाई पनि आफू अवहेलित हुँदै आएको त्यही शब्द नै अनिवार्य जसरी बच्चाको नामपछाडि जोडेर उसलाई पनि तल्लोपनको खाडलमा जाकिदियौं । फलतः जीवनभर हीनताबोधका साथ अहिले पनि हेलाहोचो भएर जिउन विवश छन् विचराहरु । 

के दोष थियो र तिनको ? यस अर्थमा तपाईंबाट जन्मिनु नै उनीहरुका लागि अभिषाप भइदियो । तर त्यस्तो त त्यही थरले गर्दा नै भएको हो । त्यसैले जसरी तपाईं र तपाईंका पुर्खा पीडित भए, अब आफ्ना सन्तान–दरसन्तानलाई त्यसरी पीडित हुन नदिऔं । उनीहरुलाई दलित कहलिनुपर्ने अवस्थाबाट बचाऔं । सानोमा बच्चाको नाम आ–आफ्नो इच्छाले राख्ने गरिएको छ भने थर किन नमिल्ने त ? मिल्छ ।

टिप्पणीहरू