वडाध्यक्षका छोरालाई खोलाको ठेक्का, सेटिङपछि प्रहरीको सुरक्षा

वडाध्यक्षका छोरालाई खोलाको ठेक्का, सेटिङपछि प्रहरीको सुरक्षा

तनहुँको भिमाद नगरपालिकाले वडाध्यक्षका छोरालाई नदीजन्य पदार्थ उत्खनन्को ठेक्का दिलाउन भित्रभित्रै ठूलो सेटिङ गरेको पाइएको छ । नगरपालिकाको वडा नम्बर ७ स्थित सियाखानीमा स्थानीयले विरोध गर्दागर्दै प्रहरीको संरक्षणमा खोला उत्खनन् गरिएपछि यस्तो तथ्य खुलेको हो । 

शिवशक्ति क्रसर उद्योगले त्यहाँ धमाधम डोजर लगाएर बालुवा निकालिरहेको छ भने स्थानीयहरुको विरोधलाई रोक्न दर्जनौँको संख्यामा प्रहरी तैनाथ गरिएको छ । स्थानीय सरोकारवालाले बताएअनुसार उक्त उद्योगका मालिक ६ नम्बरका वडाध्यक्ष श्याम सुन्दर जोशी हुन् । कागजमा भने उनका छोरा विधानको नाम छ । 

नदी तथा खानीजन्य पदार्थ उत्खनन् गर्दा प्रभावित क्षेत्रका वासिन्दालाई क्षतिपूर्ती दिनुपर्ने कानुनी प्रवन्ध छ । तर, शिवशक्ति क्रसरले भने स्थानीयसँग क्षतिपूर्तीबारे अहिलेसम्म सामान्य छलफलसम्म गरेको छैन । बरु, उल्टै प्रहरीको सुरक्षा घेरामा निर्वाध नदी खोतल्ने काम गरिरहेकाे छ । 

भिमाद नगरपालिकाका मेयर दधिराज सुवेदी र क्रसर संचालन भएको ठाउँ ७ नम्बरका वडाध्यक्ष प्रकाश श्रेष्ठ दुबै एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् । शिवशक्ति क्रसरका मालिक अर्थात् ६ नम्बरका वडाध्यक्ष  जोशी नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । अरुबेला पक्ष-विपक्ष हुने गरेकाकांग्रेस र एमालेका जनप्रतिनिधिले मिलेमतोमा खोला उत्खनन् गरेको स्थानीय बताउँछन् । 

सियाखानी नजिक घर भएका एक स्थानीयका अनुसार वडाध्यक्षको छोराले गैरकानुनी रुपमा खोला उत्खनन् गरेको विषयमा मेयर भलीभाँती जानकार छन् । तर, स्थानीयको चासो सम्बोधन गर्नुपर्नेमा उल्टै प्रहरी खटाएर खोला खनाउन लागेपछि सेटिङको गन्ध आएको उनी बताउँछन् । 

‘खोलाबाट बालुवा निकाल्दा जमिन भाँसिदै गएको छ, अलिकति बाढी आयो भने माथि (खेतबारी)सम्मै बगाउने अवस्था छ’, उनले भने, ‘जनप्रतिनिधि र प्रहरीले हामीलाई सेवा सुरक्षाको प्रत्याभुति दिलाउनुपर्ने हो, तर उल्टै ज्यादती गरियो ।’ 

अर्का एक स्थानीयले पनि जनप्रतिनिधिकै सेटिङमा खुलेयाम नदी उत्खनन् भैरहेको गुनासो गरे । ‘हामीले हाम्रो गाउँ जोखिममा पर्यो भन्दा पनि सुनिएन’, उनको दिखेसो छ, ‘हामीले विरोध गर्दा झन् प्रहरी ल्याएर तर्साउन खोजियो ।’

जनप्रतिनिधिकै मिलेमतोमा यो सबै भइरहेको हो त ? जनआस्थाले ७ नम्बरका वडाध्यक्ष श्रेष्ठलाई सम्पर्क गरेर सोधेकाे थियाे । जवाफमा उनले निरीहता प्रकट गरे । नगरपालिकामा आफ्नो कुरा सुनुवाई नभएको गुनासो उनले गरेका छन् ।

‘मलाई त चार किल्लाको सिफारिस दिने अधिकार मात्रै हुन्छ, अरु सबै माथि (नगरपालिका)कै निर्देशनमा भएको हो यो’, वडाध्यक्ष श्रेष्ठले भने, ‘मैले पनि उपमेयरज्यूलाई फोन गरेर यहाँ स्थानीयले विरोध गरिरहेका छन्, यसलाई समाधान गर्नुपर्यो, मलाई अफ्ठ्यारो भइरहेको छ भनेको थिएँ, केही चासो देखाउनुभएन, म पनि चुपेवामै छु ।’ 

वडाध्यक्ष श्रेष्ठले सबै खेल नगरपालिकाबाट भएको बताएपछि मेयर सुवेदीसँग यसबारे थप बुझ्न खोज्दा सम्पर्क हुन सकेन । त्यसपछि उपमेयर शारदा खनाल (जो एमालेबाटै निर्वाचित हुन्) लाई किन स्थानीयको आवाज दबाउन खोजेको ? भन्दा उनले गोलमोटोल जवाफ दिइन् ।

कागजी प्रक्रिया पूरा गरेरै शिवशक्ति क्रसरले उत्खनन् गर्न पाएको र त्यहाँ कुनै विरोध नभएको दाबी उनको छ । विरोध नभएको भए त्यहाँ किन प्रहरी खटाइयो ? भन्ने प्रतिप्रश्नमा भने टालटुले जवाफ दिँदै भनिन्,‘त्यहाँ झगडा हुन्छ भनेर खटाइएको हो, त्यो सबै प्रक्रिया पूरा गरेरै उत्खनन् अनुमति दिइएको छ ।’

कागजी प्रक्रिया मिलाएको दाबी गरेकी उपमेयर खनाल त्यसको पृष्ठभूमि भने थाहा नभएको भन्दै टक्टकिइन् । ‘कागजी प्रक्रिया चाहिँ पूरा भएको देखिन्छ, तर मेयर साप र वडाध्यक्षज्यूबीच के-कस्तो कुरा भएको हो, त्यो मलाई थाहा छैन’, उनले सुनाइन् ।

टिप्पणीहरू