वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठग्नेहरु समातिए

आकर्षक तलबमा वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाएर ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले लमजुङको दोर्दी गाउँपालिका घर भई काठमाडौं बस्ने दिपेन्द्र गुरुङ्ग र सर्लाहीको बरहथवा नगरपालिकाकी रुपी मायाँलाई नियन्त्रणमा लिएको हो ।
बेरोजगार युवायुवतीलाई विदेश पठाइदिने भन्दै लाखौं रुपैयाँ उठाएर सम्पर्कविहिन भएपछि पीडितहरुले उनीहरुविरुद्ध ताहाचलस्थित वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए । दिपेन्द्रलाई हिजो काठमाडौं महानगरपालिका–१६ र रुपीलाई आज वडा नम्बर १५ बाट पक्राउ गरिएको सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यले बताए ।
उनका अनुसार दिपेन्द्रले बुसनिया पठाइदिने भन्दै सात लाख रुपैयाँ ठगी गरेका हुन् । त्यसैगरी, रुपीले मलेसिया पठाउने भन्दै पाँच लाख ५७ हजार रुपैयाँ ठगी गरेको भनि उजुरी परेको उनको भनाइ छ । दुवै जनाबाट पीडित बनेका ६–६ जनाले उजुरी दिएको एसपी आचार्य बताउँछन् । उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि विभाग पठाइएको उनले जानकारी दिए ।
टिप्पणीहरू