पालिका प्रमुखहरु नै मानव तस्करीमा संलग्न

पालिका प्रमुखहरु नै मानव तस्करीमा संलग्न

मासिक अढाई लाखभन्दा बढी कमाइ हुने भएपछि वैदेशिक रोजगारीमा जाने युवाका निम्ति आकर्षक गन्तव्य बनेको छ– दक्षिण कोरिया । केही व्यक्तिले युवालाई कोरिया लैजाने प्रलोभन देखाएर लाखौं असुलेका छन् ।कोरियाली सपना जीवितै भएका युवाको उड्ने टुङ्गो अहिलेसम्म छैन भने ऋण लिएर दलाललाई बुझाएको पैसा फिर्ता हुनेसमेत संभावना देखिन्न । दक्ष कामदार (ई–सेभेन) भीसामार्फत २५ लाख रूपैयाँमा कोरिया पठाइदिने भनेर केही व्यक्तिले इलामका सयौं युवाबाट करोडौं उठाएका छन् । 

सञ्जाल नै बनाएर पैसा असुल्ने मुख्य व्यक्ति ताप्लेजुङ घर भई हाल कोरिया बस्दै आएका सुरेश लिम्बू हुन् । उनीसँगै नवीन पाण्डे र नेत्र पोख्रेलसमेतले लाखौँ रुपैयाँ लिएको पीडित युवा बताउँछन् । त्यसो त माङसेबुङ गाउँपालिकाका निवर्तमान अध्यक्ष डिकेन्द्र इधिङ्गो र उनका सल्लाहकार डम्बर लोरिङदेनले समेत मौसमी कामदारको रूपमा कोरिया पठाइदिने भन्दै उठाएको पीडितहरूले बताएका छन् । इधिंगो र फाकफोकथुम गाउँपालिकाका निवर्तमान अध्यक्ष राम श्रेष्ठले विचौलियाहरूसँगको मिलेमतोमा पाँच सय युवालाई २०७८ सालमा मौसमी कामदार भन्दै कोरिया पठाएका थिए । भाषा परीक्षा पास नगरे पनि १७ लाख रूपैयाँमा राम्रो कमाइ हुने गरी पठाइदिने भनेपछि २०७९ साउनमा २४ लाख ६० हजार बैंक खातामा हालिदिएको पीडितले बताएका छन् । 

पैसा लिएर भनेअनुसार कोरिया नपठाएपछि केही युवाले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् । तर, उजुरीपछि पनि आफ्नो पैसा फिर्ता नभएको एक युवाले बताए । पैसा असुलेका केही युवालाई भने काठमाडौं पु¥याएर समेत फर्काइएको छ । नौ लाख रूपैयाँ बुझाएका एक युवाले भने, ‘कोरिया उडाउने भनेर काठमाडौं बोलाए, घरपरिवारसँग फूलमाला लगाएर गयौं, टिकट मिलेन भनेर फर्काए ।’

सरकार परिवर्तनले ढिला भएको हो भन्दै पैसा फिर्ता नदिएको उनले बताए । पहुँचवाला केहीले भने पैसा फिर्ता लिइरहेका छन् । इलाम नगरपालिकाका ज्ञानु दाहालले पैसा फिर्ता लिएको बताए । तालिमपछि कोरिया पठाइदिने भनेर एक लाख २४ हजार लिएका सुरेन राईबाट एक लाख र नवीन पाण्डेबाट एक लाख पचास हजार फिर्ता लिएको दाहालले बताए । सदरमुकाममा हार्डवेयर पसल चलाएर बसेका उनी पसल बेचेर एस स्कील ट्रेनिङ सेन्टरले दिएको तालिममा सहभागी भएका थिए । उक्त सेन्टरले भाषा परीक्षाबिना पठाउने भनेर झण्डै पाँच सय युवालाई एक लाखदेखि एक लाख २४ हजार शुल्क लिई तालिम दिएको थियो । 

पैसा फिर्ता माग्नेलाई कार्यविधि देखाइँदै 

दलालहरूले भने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ई–सेभेन भीसाको काम अन्तिम चरणमा पु¥याएको र अब चाँडै कोरिया पठाउने बताउँदै आएको यसअघि पैसा बुझाएका एक युवाले बताए । मन्त्रालयले कोरिया सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि २०८० २०८० चैत १७ गते पारित गरेको छ, जसमा २०८१ माघमा पुनः पहिलो संशोधन गरेको छ । दलालहरूले युवाबाट उठाएको रकम मध्ये मन्त्रालयसम्म पु¥याएकाले कार्यविधि तयार भएको युवाको भनाई छ । 

मौसमी कामदार फर्किएनन्

इलामको दुई गाउँपालिका माङसेबुङ र फाकफोक थुमका निवर्तमान अध्यक्षहरूले आफ्नो कार्यकालमा ६ महिनाका लागि मौसमी कामदार पठाएकोमा दुई–चार जनाबाहेक कोही फर्किएका छैनन् । उनीहरू ६ देखि ८ लाखसम्म बुझाएर गएका थिए । उनीहरू अवैध कामदारको रूपमा उतै छन् ।

टिप्पणीहरू