बेलायतमा रहेका नेपालीमाझ चुनावी रन्को

बेलायतमा रहेका नेपालीमाझ चुनावी रन्को

गैरआवासीय नेपाली संघ यतिखेर छिन्नभिन्न अवस्थाबाट गुज्रिरहेको छ । संघभित्रको ध्रुवीकरण केन्द्रदेखि विदेशका राष्ट्रिय परिषदहरुसम्म विस्तार भइरहेको छ ।

बेलायत एनआरएनमा पनि ‘लिडरसीप क्राइसीस’ भएको महशुस गर्दै त्यसलाई सुधार्न अध्यक्ष पदमा आफ्नो उम्मेदवारी रहेको राजेन्द्र पुडासैनीको भनाइ छ । नेतृत्वको होडबाजीले एनआरएनएको छवि नराम्रोसँग बिग्रिएको उनको बुझाइ छ ।

एनआरएनए स्थापनामा बेलायतको भूमिका अग्रणी मानिन्छ । तर, यही देशमा रहेको नेपाली समुदाय चरम विभाजित अवस्थामा छ । समुदायमा एकता र सहिष्णुताको खडेरी छ । एक खालको भ्याकुम भइरहँदा साथीभाई र अग्रजहरुको सल्लाहबमोजिम आफू उम्मेदवारी दिने निचोडमा पुगेको पुडासैनीको दाबी छ ।

‘मेरो उम्मेदवारी प्राउड नेपाली कम्युनिटी बनाउन र अग्रजहरुले गर्न बांकी रहेका कुरा पुरा गर्न हो’, उनले भने । संस्थाप्रति आममानिसको आकर्षण नहुनुको मुख्य कारण पिपुल्ससंग जोडिन नसक्नु रहेको उनको धारणा छ । उनी पहिला संस्थाको जग बलियो बनाउन जरुरी ठान्छन् ।

संस्थालाई कसैको स्वार्थसंग बन्दी बनाउनु हुन्न भनेर निरन्तर वकालत गरिरहेको बताउंदै उनले एनआरएनलाई डायनामिक प्लेटफर्म बनाएर सबैको प्रतिनिधित्व हुनेगरी कनेक्ट गर्न पनि नेतृत्वमा आकांक्षा राखेको जनाए । दुई दशकअघि एनआरएनए स्थापनाकालदेखि नै आवद्ध रहे उनी ।

‘हामीले समाजसेवा भनेर धेरै उर्जा खर्च गरयौं । अधिकार सम्पन्न बनाउन, संगठित गर्न रातदिन लाग्यौं । तर, सिभिल इन्गेजमेन्ट हुन सकेन । समावेशी, पारदर्शी हुनुपर्छ संस्थामा त्यो भएन । अन्तर्राष्ट्रिय र स्थानीय मुद्दालाई फरक ढंगले पहिचान गर्न सकेनौं’, पुडासैनीले भने । एनआरएन एउटा अभियान भएकाले नेपालीको एकतालाई बलियो बनाउन र अन्य साझा समस्या समाधान गर्न सकिने उनको विश्वास छ ।

पुडासैनीले नेतृत्वमा पुगेपछि गर्ने वाचा धेरै ठूलो नभएको बताए । ‘मेरा सामान्य कुरा छन् । स्थानीय नेपाली नेटवर्क बलियो बनाउन, बेलायत नेपाल सम्बन्ध मजवुत बनाउन र ज्ञान सीपका कुरा बांड्न विशेष भूमिका खेल्नु पर्नेछ,’ उनले जोड दिँदै भने ।

एनआरएनए यूके विभाजनले चुनौतिसँगै सम्भावना पनि ल्याएको उनको ठहर छ । ‘केही साथीको व्यक्तिगत इगो र मनोकांक्षाले संस्था विभाजित भयो । अर्को पक्षसँग मिल्न मसँग मार्गचित्र छ । हाम्रा साझा एजेण्डा छन् । नेपाली कम्युनिटीलाई उदाहरणीय बनाउन महाअभियान चलाउनु पर्छ’, उनले भने ।

पुडासैनीले एकताबद्ध र एउटै एनआरएनए, नेपाली नागरिकताको निरन्तरता, नेपालमा रहेको सम्पत्तिको सुरक्षा, भूतपूर्व ब्रिटिश गोर्खाजको समानता लडाईंमा ऐेक्यबद्धता, एनआरएनएमा नयाँ पुस्ताको सहभागिता, नेपाली कला, साहित्य र संस्कृतिको संवर्धन एवं प्रवर्धन, नेपाली विद्यार्थी र कामदारहरुको अधिकार तथा सुरक्षा जस्ता विषय आफ्नो प्रमुख मुद्दा भएको बताए ।

एनआरएनए अभियानमा एकताबद्ध भएर लागे सबै मुद्दा समाधान गर्न सकिने उनको आत्मविश्वास छ । एनआरएनए यूकेलाई नमुना संस्था बनाउने आफूसँग विशेष ‘रोडम्याप’ भएको उनको जिकिर थियो ।

संघको मतदान अनलाइनमार्फत २६ जुलाई र राष्ट्रिय महाधिवेशन २७ जुलाई, २०२५ का लागि तय गरिएको छ ।

को हुन् पुडासैनी ?

नुवाकोटको साविक जिलिङ गाउंपालिका २, हाल बेलकोटगढी नगरपालिका ८ मा जन्मेका पुडासैनी २५ वर्ष अगाडि बेलायत गएका हुन् । विगत १५ वर्षदेखि बेलायती स्वास्थ्य सेवा क्षेत्रमा कार्यरत छन् । नेपालमा सरस्वती बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) सभापति समेत थिए । बेलायत पुगेपछि ट्रेड युनियन आन्दोलनमा पनि सामेल भए । बेलायतको ठूलो ट्रेड युनियनमध्ये एक जीएमबी नेशनल युनियन लन्डन सेन्टर नर्थको सचिव पदमा रहेर श्रमिकहरुको हकहितको पैरबी गर्दै आएका छन् ।

सन् २०१४ मा लन्डन बरो अफ ह्यारोको ह्यारो अन द हिलबाट काउन्सिलर पदमा प्रत्यासी रहेका पुडासैनी राजनीति र समाजसेवालाई शुद्धीकरणमा विश्वास गर्ने बताउँछन् । यतिखेर उनी इसेक्सको हार्लो शहरमा बस्छन् । 

यती नेपाली एसोसिएसन यूकेको दुईपटक महासचिव, प्रवासी नेपाली मञ्च बेलायतको अध्यक्षलगायत विभिन्न संघसंस्थाको सल्लाहकार हुंदै एनआरएनए अन्तर्राष्ट्रिय कमिटीको २०२१–२३ मा सदस्य समेत थिए ।

टिप्पणीहरू