पूर्वराष्ट्रपति र प्रमकाे एउटै फाेरम
मदन भण्डारी फाउण्डेसनमार्फत माधव नेपालको १५ वर्षे कार्यकालभरि मज्जैले समानान्तर गतिविधि चलेको थियो । यसनिम्ति देश विदेशबाट स्रोत साधन जुटाइयो पनि । यही फाउण्डेसन केपी ओलीलाई नेता बनाउने हतियार थियो । भन्छन् नि– ‘१२ वर्षमा खोलो पनि फर्किन्छ ।’ समयका हिसाबले १२ वर्षभन्दा केही बढी भएको छ तर एमालेमा निषेधको कोर्रा चलाइएपछि अब विद्या भण्डारीलाई सक्रिय राख्न यही फाउण्डेसनकै मोर्चा प्रयोग गरिँदैछ ।
असार १४ गते मदन भण्डारी फाउण्डेसनद्वारा आयोजित जबजका तीन दशक विषयक विचार गोष्ठीबाटै भण्डारीले सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी थिइन् । तर अध्यक्ष ओली त्यसपछि भण्डारीलाई ढिम्किन नदिने बाटोतिर लागे । यही बुझेरै भण्डारीले यही फाउण्डेसनमार्फत देशदौडाहामा लाग्ने निधो गरेकी हुन् ।
असार ३१ गते मदन भण्डारीको ७५ औं हीरक जन्मजयन्ती मनाउन डोरमणि पौडेलको संयोजकत्वमा ‘जननेता मदन भण्डारी ७५ औं जन्मजयन्ती मूल व्यवस्थापन समिति’ गठन गरिँदा यसको संरक्षक विद्या भण्डारीलाई राखिएको थियो । जबकि अहिले पनि फाउण्डेसनको संरक्षक एमाले अध्यक्ष केपी ओली हुन् । ओलीसँग सहमति गरेरै भण्डारी फाउण्डेसनमा एमालेका प्रभावशाली नेतालाई राख्न चाहन्थिन् । पार्टीमा आफू छँदै अरु कोहीले खुट्टा उचाल्नु भनेको समानान्तर गतिविधि हुने ओलीजस्ता चतुर खेलाडीले नबुझ्ने कुरा थिएन । यसैले भण्डारीको आग्रहका बाबजुद उनले कुनै पनि वरिष्ठ नेतालाई यो समितिमा बस्न सिफारिस गरिदिएनन् । यसैले केन्द्रीय राजनीतिमा स्थान बनाउन नसकेका डोरमणिलाई विद्याले रोजेकी हुन् ।
ओलीले नचाहेपछि सल्लाहकारमा पूर्वमन्त्री महेन्द्रबहादुर पाण्डे, पूर्वप्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी, पूर्वमन्त्री युवराज कार्की, बाचस्पती देवकोटा रहेका छन् । ठूलो व्यवस्थापन समिति बनाइए पनि आफूलाई साथ दिन सक्ने र ओलीसँग चिढिएका नेतालाई यसमा राखिएको छ ।
केही दिनअघिसम्म फाउण्डेशनले रजत जयन्ती एक वर्ष मात्रै मनाउने घोषणा गरेको थियो । तर ओलीसँग द्वन्द्व बढ्दै गएपछि तीन वर्षको कार्यक्रम ल्याइएको छ । विचार गोष्ठी, छलफल तथा अन्तरक्रिया, कविता, वादविवाद, हाजिरी जवाफ र खेलकुद प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, पुस्तक प्रदर्शनीजस्ता रचनात्मक क्रियाकलाप भन्दै तीन वर्षको कार्यक्रम एकैपटक अगाडि सारिएको छ । अर्थात मदनको हीरक जन्मजयन्ती कार्यक्रम २०८२ र २०८३ मात्रै होइन, समीक्षासहित २०८४ सालमा समापन हुनेछ । अर्कोतिर फाउण्डेसनको नेतृत्व भण्डारीकै छोरी उषाकिरणले गरिरहेकी छन् । आमालाई राजनीतिमा रोक्न खोजिएपछि उषाले फेसबुकमै लेख्दै आपत्ति जनाएकी छन् ।
यही फाउण्डेसनप्रति पनि निगरानी बढाउनुपर्ने मत एमालेमा उठिसकेको छ । ‘एमालेको सदस्यता नभएपछि उनले काम गर्ने मदन भण्डारी फाउण्डेसनमार्फत नै हो,’ केन्द्रीय कमिटी बैठकमा निर्मल भट्टराईले प्रश्न उठाएका थिए, ‘फाउण्डेसन कस्तो हो ? तल कस्तो गतिविधि गर्दैछ भनेर पार्टीले निगरानी गर्नुपर्छ ।’ उनले थप भने, ‘यसलाई बौद्धिक संस्था बनाएर पार्टी केन्द्रमा मात्रै कायम राख्नुपर्छ । जिल्ला र प्रदेशमा कार्यक्रम गर्नबाट रोक्नुपर्छ ।’ विद्याले तलसम्मै कार्यक्रम चलाउने छनक पाएपछि उनलाई सम्पूर्णतः रोक्नुपर्ने बहस भएको हो ।
टिप्पणीहरू