म सौभाग्यशाली व्यक्ति हो : शेरबहादुर देउवा

म सौभाग्यशाली व्यक्ति हो : शेरबहादुर देउवा

नेपाली काँग्रेसका सभापति तथा भूतपूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई सौभाग्यशाली व्यक्तिका रुपमा चिनाउनुभएको छ । 

जनताले पटक-पटक जिताएर देशको नेतृत्व गर्ने अवसर प्रदान गरेको भन्दै उहाँले आफूलाई भाग्यमानी ठान्नुभएको हो । लोकतन्त्रमा जनताभन्दा ठूलो कोही नहुने पनि देउवाले प्रष्ट पार्नुभयो ।

‘म एउटा सौभाग्यशाली व्यक्ति पनि हो । अहिलेसम्म प्रत्यक्ष निर्वाचन लडेको हो । सौभाग्यले कहिले पनि हारेको छैन । धेरै पार्टीका नेताहरु मेरो खिलाफमा लाग्नुभयो मेरोविरुद्धमा डडेलधुराबाट तर म त हार्छु भनेको थिएँ, तै पनि जितिछु’, आफ्नै शैलीमा उहाँले भन्नुभयो, ‘जनता सबैभन्दा ठूलो कुरा हो । जनतालाई त्यही कारण सार्वभौम सम्पन्न भनेका छौँ । जनता देशको मालिक हो । जनताभन्दा ठूलो कोही छैन । सबै साथीहरुले जनताको सेवा गरौँ ।’

कांग्रेस सभापति देउवाले धेरैचोटि प्रधानमन्त्री भएको भनी आफूमाथि पार्टीभित्र उठ्ने गरेको प्रश्नको पनि जवाफ फर्काउनुभएको छ । आफू त्यत्तिकै प्रधानमन्त्री नभएको भन्दै उहाँले जनताले जिताएर पठाएको र सांसदहरुको सहयोगले प्रधानमन्त्री भएको स्पष्ट पार्नुभयो ।

‘यहाँ धेरै साथीहरुले कुरा उठाउनुभएको छ । आफ्नै विषयमा उठाएको कुरालाई मैले के भन्ने । कति प्रधानमन्त्री भइरहने भन्नुभयो । म कहाँ भएको छु, जनताले भोट हाल्छन् त के गर्ने मैले ?’, प्रश्नसँगै जवाफ दिनुभयो, ‘पार्टीका सांसदहरुले सहयोग गरे, सबै पार्टीहरुले सहयोग गरेर प्रधानमन्त्री भएको हो ।‘ 

देउवाले अब सक्रिय राजनीतिबाट बाहिरिने संकेत पनि गर्नुभएको छ । अब आफ्नो धेरै उमेर नरहेको भन्दै चिन्ता नगर्न उहाँले आग्रह गर्नुभयो ।

टिप्पणीहरू