आइजिपीलाई बिदा गर्ने तालिका तयार

आइजिपीलाई बिदा गर्ने तालिका तयार

प्रहरी महानिरीक्षक दिपक थापाको बिदाई गर्न लागिएको छ । भोलि मध्यरातदेखि कार्यकाल सकिन लागेका थापालाई दिउँसो प्रहरी मुख्यालय, नक्सालमा विशेष कार्यक्रमसङ्गै बिदा गरिने छ । 

प्रहरी प्रधान कार्यालयको प्रशासन शाखाले दिउँसो २ बजे हुने कार्यक्रममा हेडक्वार्टरमा कार्यरत सिपाहीदेखि माथिका सबै र अन्य युनिटका प्रहरी वरिष्ठ उपरीक्षक र सोभन्दा माथिका अधिकृतलाई उपस्थितिका लागि समय तोकेर सर्कुलर पठाएको छ । तर प्रहरी अस्पतालको हकमा अतिरिक्त महानिरीक्षक मात्रै सहभागी हुनुुपर्ने छ । 

१ नम्बर पोशाकमा उपस्थित हुनुपर्ने जनाउँदै बिदाईका लागि अधिकृत तहभन्दा मुनिका १ः२५ बजे, इन्स्पेक्टरहरु साढे १ बजे,डिएसपी र एसपी १ः३५ बजे,एसएसपी १ः४० बजे, डिआइजीहरु पौने २ बजे,एआइजीहरुलाई १ः५० बजे सभा हलमा छिरिसक्न उर्दी जारी गरिएको छ । हेडक्वार्टरमा कर्मचारीको रुपमा कार्यरत जुनियर अधिकृत र जवानहरुलाई ३०, ३० जनाको संख्यामा मात्रै बिदाई समारोहमा पठाउनुपर्ने छ ।

आज जारी गरिएको परिपत्रसँगै प्रशासन शाखाले सियुजी शाखालाई सबैलाई एसएमएसमार्फत् जानकारी गराउन निर्देशन दिएको छ । भोलिको कार्यक्रममा महानिरीक्षक थापासँगै उनको ब्याचका एआईजीहरु सुदीप गिरी र टेकबहादुर तामाङको पनि बिदाई गरिँदै छ । अर्का एआइजी कृष्णहरि शर्मा पोखरेल भने उमेर हदका कारण केही दिनअघि घर गइसकेका छन् ।

टिप्पणीहरू