नयाँ आइजीपीलाई दर्ज्यानी चिन्ह

नयाँ आइजीपीलाई दर्ज्यानी चिन्ह

नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई दज्र्यानी चिन्ह प्रदान गरिएको छ ।

आज गृह मन्त्रालयमा आयोजित एक समारोहका बीच गृहसचिव गोकर्णमणि दुवाडीले नयाँ आइजीपीलाई फूली लगाइएका हुन् । भदौ १३ गते बसेको क्यविनेट बैठकले खापुङलाई आइजीपी नियुक्त गर्ने निर्णय गरेको थियो । 

समारोहमा बोल्दै उनले सरकारले दिएको जिम्मेवारी निष्ठापूर्ण, अनुशासित र प्रभावकारी ढंगले निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे । सो अवसरमा आइजी खापुङले विभिन्न घटनाक्रममा ज्यान गुमाएका प्रहरी संगठनका सदस्यलाई श्रद्धाञ्जली व्यक्त गर्नुका साथै घाइतेहरुको सहज जीवनयापनको कामना पनि गरेका थिए ।

आफ्नो कार्यकालमा नागरिकमा राज्यमाथिको विश्वास र भरोसा अभिवृद्धि गर्न सधैँ प्रयत्नरत रहने प्रतिवद्धता उनले जनाएका छन् । भने, ‘नेपाल सरकार गृह मन्त्रालयले मलाई सुम्पिएको यो जिम्मेवारी मेरो निष्ठापूर्ण, अनुशासन, सेवाभाव र प्रभावकारी रुपमा निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’

हाल प्रचलित प्रहरी ऐन र नियमावलीअनुसार खापुङ छोटो समयका लागि मात्र आइजीपी रहनेछन् । अहिले छलफलकै क्रममा रहेको प्रहरी विधेयक पारित हुन नसके उनले २ महिना ७ दिनमात्र प्रहरीको कमाण्ड सम्हाल्न पाउनेछन् । 

२०२७ मंसिर २३ मा तेह्रथुममा जन्मिनुभएका खापुङ २०५२ कार्तिक २७ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर)बाट सेवा प्रवेश गरेका हुन् । यो अवधिमा उनले मोरङ, धरान, दरबारमार्ग, बागलुङलगायतका थुप्रै प्रहरी इकाइमा नेतृत्व गरिसकेका छन् ।

टिप्पणीहरू