बौद्धमा स्वघोषित गुरुको आतंक
बौद्ध धर्मावलम्बीको प्रमुख तीर्थस्थलमध्ये एक हो–बौद्धनाथ स्तुपा । जुन काठमाडौं उपत्यकामा रहेको सबैभन्दा ठूलो स्तुपामा गनिन्छ । युनेस्कोले विश्व सम्पदा सूचीमा सूचीकृत गरेको स्तुपा १४ औं शताब्दीतिर निर्माण भएको हो । काठमाडौंको प्रमुख पर्यटनस्थलमा स्तुपा पनि पर्दछ । वर्षेनि लाखौं आन्तरिक र बाह्य पर्यटकले स्तुपाको भ्रमण गर्ने गरेका छन् ।
सबैको साझा सम्पदाको रुपमा रहेको स्तुपालाई आफ्नो व्यक्तिगत दावी गर्दै एक समूहले आतंक मच्चाएको छ । आफ्नो पुस्ताको सम्पत्ति भन्दै लामा भेषधारी स्वघोषित औतारी गुरु भूपति बज्र लामाले बौद्धस्थल क्षेत्र विकास समितिलाई दुःख दिइरहेका छन् । उनले लामाको भेषमा केही व्यक्तिहरु पठाएर समितिमा रमिता देखाउने गरेको पाइएको छ ।
गत शनिबार उनीहरुले समितिमा तालाबन्दी गर्नुको साथै तोडफोड पनि गरेका छन् । समितिका पदाधिकारीहरु भ्रमणका लागि लुम्बिनी गएको मौका छोपेर उनीहरुले सूचना पार्टी निकाली फ्याँकेका हुन् । सँगै समितिको गेटमा तालाबन्दी पनि गरिएको हो । उनीहरुले लामो समयदेखि दुःख दिइरहेको समितिका अध्यक्ष राजकुमार लामाले बताए ।
लामाको भेषमा व्यक्तिहरु पठाएर त्रसित बनाउनेलगायतको काम भूपतिले गरिरहेको उनको आरोप छ । जनआस्थासँग उनले भने,‘बौद्धनाथ सबैको साझा सम्पत्ति हो । सदियौंदेखि बौद्धनाथ स्तुपा यहीँ छ । यो कसैको व्यक्तिगत सम्पत्ति होइन । उनीहरु आफ्नो पुस्ताको सम्पत्ति,आफूलाई चाहियो भन्छन् । स्तुपा कसरी व्यक्तिको सम्पत्ति हुन सक्छ ? हामीलाई एकदमै दुःख दिइरहेका छन् ।’
अध्यक्ष लामाका अनुसार उनीहरुले सुरक्षागार्डलाई निकालेर शनिबार जबरजस्ती तालाबन्दी गरेका थिए । राष्ट्रको गौरवस्थलमा त्यस्ता गैरकानुनी काम गर्नेलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने उनको भनाइ छ । अगाडि थपे,‘शनिबार हामी थिएनौं । मन्त्रालय र हाम्रो सूचना पार्टीहरु सबै निकालेर फ्याँकेछन् । त्यसपछि ताला पनि लगाइएछ । विश्व सम्पदा क्षेत्रमा सूचीकृत स्थलमा यस्ता कार्य गर्नु दण्डनीय छ । उनीहरुलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ ।’

गेटमा तालाबन्दी गरेपछि गृह मन्त्रालय,संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, समितिका पदाधिकारीसहित उच्चस्तरीय बैठक बसेको थियो । सो बैठकको निर्णयबमोजिम ताला खोलिएको छ । ताला लगाउनेमाथि कारबाहीको माग गर्दै समितिले पर्यटन मन्त्रालयमा निवेदन पनि दिएको थियो । मन्त्रालयले उनीउपर कारबाही गर्नका लागि गृहलाई पत्राचार गरिसकेको छ । गत भदौ १७ गते मन्त्रालयले गृहलाई पत्र पठाएको हो ।
दर्ता नम्बर १७५२ भएको पत्रमा लेखिएको छ,‘विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तुपा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसम्बद्ध बौद्धनाथ क्षेत्र विकास समितिले रेखदेख, प्रवर्द्धन र संरक्षण गर्दै आएको सन्दर्भमा उक्त बौद्धनाथ स्तुपा खुला गरी दोषीउपर कारबाही हुन भन्नेसमेत व्यहोराको सोही समितिको च.नं.१२१ मिति २०८२–०५–१६ को प्राप्त पत्रसहितका कागजातहरु पाना–४ यसैसाथ संलग्न राखि आवश्यक कारबाहीको लागि पठाइएको व्यहोरा आदेशानुसार अनुरोध छ ।’
को हुन् भूपति ?
भूपति तिब्बतबाट आएका पुजारी चिनियाँ लामा गणेश बज्र लामाका छोरा हुन् । २०२६ चैत २८ गते बौद्धमा जन्मिएका भूपतिलाई लामा मन्त्रसमेत उच्चारण गर्न नआउने स्रोतको ठोकुवा छ । सम्पन्न परिवारका उनले जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट नागरिकता लिएका छन् । रोचक प्रसंग के भने, उनले चार वटा नागरिकता प्रशासनबाट निकालेका छन् । पहिलोपल्ट नागरिकता निकाल्दा नाम मात्र भएकोमा प्रतिलिपिमा औतारी गुरुसमेत थपिएको छ ।
जबकि, प्रतिलिपि नागरिकतामा पहिलो नागरिकतामा जे छ, त्यहीँ मात्र लेख्न पाइन्छ । स्रोतका अनुसार उनले जिल्ला प्रशासन कार्यालयका कर्मचारीलाई आर्थिक प्रलोभनमा पारेर सो गैरकानुनी काम गरेका हुन् । ‘पहिलो नागरिकताअनुसार नै प्रतिलिपि बनाउने हो । तर, उनले प्रतिलिपि निकाल्दा औतारी गुरु भनेर थपेका हुन् । जुन कानुनविपरीत छ । यसमा राम्रै चलखेल भएको छ’,स्रोतले भन्यो । त्यसैगरी, उनले सन् २००९ मा ००६३६८ नम्बरको कूटनीतिक राहदानी पनि लिएको पाइएको छ ।
उक्त राहदानीको म्याद २०१० सम्मका लागि थियो । भूपति विगतमा पनि बारम्बार विवादमा तानिसकेका व्यक्ति हुन् । उनलाई नक्कली गुरु भन्दै २०७५ सालमा आन्दोलन पनि भएको थियो । विभिन्न २२ वटा नागरिक संघसंस्थाले ‘बौद्ध जोगाऔं, नक्कली गुरु रिन्पोछे भूपति बज्र हटाऔं संघर्ष समिति’ नै गठन गरेका थिए । उनलाई बौद्ध घ्याङ गुठीको अध्यक्ष नियुक्त गर्दा सरकारको चर्को आलोचना पनि भएको थियो ।
दर्जनौंलाई ठगेको आरोप
भूपतिमाथि विदेशी पाहुनाहरुलाई ठगेको आरोप छ । उनले विभिन्न बहाना बनाएर ठगी गरेको भनि समितिमा उजुरी प्राप्त भइरहने अध्यक्ष लामा बताउँछन् । केही समयअघि एक चिनियाँ महिलाले भूपतिविरुद्ध ठगीको उजुरी दिएको उनले जानकारी दिए । भन्छन्,‘उनीविरुद्ध यहाँ मात्र होइन, पुरातत्व विभाग र अन्य निकायमा पनि उजुरी परिरहन्छ । एक चाइनिज महिलाले पैसा ठगेको भन्दै हालै उनीविरुद्ध उजुरी दिएकी छिन् । त्यस्ता उजुरी कति छन् कति ।’
बेइज्जत हुने त्रासमा समिति
भारतका प्रधानन्यायाधीश भूषण रामकृष्ण गवाई आज नेपाल भ्रमणमा आउँदै छन् । उनले भोलि बिहान १० बजेर १५ मीनेटमा बौद्धनाथ स्तुपा भ्रमण गर्ने कार्यक्रम छ । तालाबन्दी र तोडफोडको क्रम चलिरहेको अवस्थामा समिति लज्जित हुनुपर्ने होकि भनेर त्रसित बनेको छ ।
अध्यक्ष लामा भन्छन्,‘भोलि भारतीय प्रधानन्यायाधीशले बौद्ध भ्रमण गर्ने कार्यक्रम छ । उनीहरुचाँहि बेतुकको कुरा ल्याएर विवाद झिकिरहेका छन् ।’
टिप्पणीहरू