वीरगञ्जमा भोलि ठूलो संख्यामा प्रहरी खटाइँदै

वीरगञ्जमा भोलि ठूलो संख्यामा प्रहरी खटाइँदै

पर्साको वीरगञ्जमा भोलि ठूलो संख्यामा प्रहरी खटाइने भएको छ । ‘मोहम्मद जयन्ती’ का अवसरमा शुक्रबार वीरगञ्जमा इस्लाम धर्मावलम्बीहरुले र्याली निकाल्ने भएपछि झण्डै हजारको संख्यामा प्रहरी परिचालन गर्न लागिएको हो । 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं सूचना अधिकारी नायब उपरीक्षक (डिएसपी) किशोर लम्सालका अनुसार नेपाल प्रहरीतर्फ पाँच सय बढी र सशस्त्र प्रहरी बल, नेपालका चार सय प्रहरी खटाइँदैछ । 

उनले भने, ‘जयन्तीमा झैझगडालगायत कुनै पनि अप्रिय घटना हुन नदिन र भइहाले पनि तत्कालै नियन्त्रणमा लिइहाल्ने गरी सुरक्षा व्यवस्था कडा पार्नेछौं ।’

मुस्लिम धर्मावलम्बीहरुले शुक्रबार इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्मजयन्ती विविध कार्यक्रम गरेर मनाउँदैछन् । त्यस अवसरमा मुस्लिम समुदायको धेरै बसोबास रहेको मधेश प्रदेशमा सार्वजनिक बिदासमेत दिइएको छ । 

मधेशमा हिन्दु धर्मावलम्बी पनि ठूलो संख्यामा छन् । मोहम्मद जयन्तीमा हिन्दु र मुस्लिम धर्मावलम्बीबीच हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको हो ।

टिप्पणीहरू