सम्पर्कमा आयो मेटा, दर्ता हुन सोधखोज

सम्पर्कमा आयो मेटा, दर्ता हुन सोधखोज

सरकारले नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेलगत्तै ‘हाम्रो पात्रो‘ र ‘मेटा’ (फेसबुक) सम्पर्कमा आएका छन् ।

यसअघि पाँच पटकसम्म दर्ताका लागि आह्वान गर्दा वेवास्ता गरेका यी दुई कम्पनी अहिले सम्पर्कमा रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव गजेन्द्र कुमार ठाकुरले जानकारी दिए । उनले भर्खरै जनआस्थालाई दिएको जानकारी अनुसार फेसबुकको मातृ कम्पनी मेटाको तर्फबाट दर्ता प्रक्रियाका लागि सोधनी भैसकेको छ । 

त्यस्तै, दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जाल बन्द गर्न प्राविधिक काम शुरु गरेको थाहा पाएपछि ‘हाम्रो पात्रो’ ले तत्काल सम्पर्क गरेर निवेदन पठाएको सहसचिव ठाकुरले बताए । उनले भने, ‘हाम्रो पात्रोको निवेदन केही बेरअघि आएको छ, हामीले पनि तत्काल प्रक्रियामा पठाएका छौँ ।’

ठाकुरका अनुसार मेटाले भने सञ्चारमन्त्रीको सचिवालयमार्फत् सम्पर्क गरेको थियो । उनले विस्तृतमा खुलाए, ‘मेटाका एक प्रतिनिधिले मन्त्रीज्यूको स्वकिय सचिवलाई सम्पर्क गरेको रहेछ, उहाँसँग सूचीकरणको लागि के के तथ्यांक पठाउनुपर्छ भनेर ड्राफ्ट मागेको रहेछ, मन्त्रीज्यूको स्वकिय सचिवले हामीलाई खबर गरेपछि तत्काल ती प्रतिनिधिको मेलमा ड्राफ्ट पठाइदिएका छौँ ।’

यी बाहेक अन्य सामजिक सञ्जालहरु भने हालसम्म सम्पर्कमा नआएको बताइएको छ ।

टिप्पणीहरू