पूर्व विद्यार्थीलाई एपीएफ स्कूलको सम्मान
सशस्त्र प्रहरी बल,नेपालको नेपाल एपीएफ स्कूल,कीर्तिपुरले ‘म्यान अफ द वर्ल्ड–२०२५’ प्रतियोगितामा ‘ग्लोबल फ्यान भोट विनर’ उपाधि प्राप्त गरेका पूर्वविद्यार्थी आयुष दुलाललाई सम्मान गरेको छ । सशस्त्रका पूर्व कर्मचारी पुस्कर दुलालका छोरा उनलाई एक कार्यक्रमका बीच स्कूलले सम्मान गरेको हो ।
सन् २०२५ मे ३१ मा फिलिपिन्समा आयोजित कार्यक्रममा उनले सो उपाधि जितेका थिए । त्यसअघि सन् २०२४ मा काठमाडौंमा आयोजित मिस्टर नेपालमा ‘म्यान अफ द वर्ल्ड–२०२५’ को टाइटल हात पार्न सफल भए ।
कार्यक्रममा आफ्नो सफलताको यात्रा सुनाउँदै उनले विद्यालयप्रति गहिरो आभार प्रकट गरे । स्कूलले प्रदान गरेको शिक्षा,अनुशासन र संस्कारले आफूलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याएको उनको भनाइ छ ।

‘यस विद्यालयले दिएको शिक्षा, अनुशासन र संस्कारले नै मलाई त्यहाँसम्म पुर्याएको हो । तत्कालीन शिक्षक र मार्गदर्शकहरुको प्रेरणा, मार्गदर्शन र मेहनतको प्रतिफल हो यो’,उनले भने । विद्यालयका समादेशक एसएसपी दिग्विजय सुवेदीले सफलताको शुभकामना दिए ।
जीवनमा सफलता प्राप्त गरेका पूर्वविद्यार्थीहरुलाई क्रमशः सम्मान गरिने उनको भनाइ छ । साथै, उनले आयुषलाई खादा,पुष्पगुच्छा र सम्मानपत्र प्रदान गरे । कार्यक्रममा विद्यालयका प्रधानाचार्य, शिक्षक, एपीएफका कर्मचारी, विद्यार्थीलगायतको उपस्थिति थियो ।
टिप्पणीहरू