प्राज्ञ मस्त, कुलपति मौन
कलाकार चेतन सापकोटाको नैतिक आचरणमाथि प्रश्न उठेपछि नेपाल संगीत तथा नाट्य प्राज्ञ प्रतिष्ठानमा लफडा चर्किएको छ ।
प्राज्ञ परिषद सदस्य समेत रहेका सापकोटाले हालै ठमेलको एउटा दोहोरी साँझमा मदिरा सेवनपछि देखाएको हर्कत सार्वजनिक पश्चात् उनीमाथि कारवाहीको विषयमा प्रतिष्ठानका पदाधिकारीहरू विभाजित भएका हुन्।
गत सोमबार 'हिले ब्याड टचको बात, दोहोरी साँझमा लाग्यो मात’ शीर्षकमा जनआस्थाबाट समाचार प्रकाशित भएपछि प्रतिष्ठानको नेतृत्व र अन्य पदाधिकारीबीच मत बाझिएको बुझिएको छ। उक्त समाचारमा सापकोटाले मदिरा पिएर दोहोरी साँझका कर्मचारीसँग लफडा गरेको र जुत्ता–मोजा खोली उत्तानो परेर अशोभनीय हर्कत गरेकोबारे विस्तृतमा उल्लेख छ।
सापकोटाले मर्यादाविपरीत प्रतिष्ठानको गरिमामा आँच आउने काम गरेको भन्दै केही पदाधिकारीहरूले घटनाको अनुसन्धान र कारबाहीको माग गरेका छन् । तर कुलपति निशा शर्माले त्यसबारे खासै चासो नदेखाएपछि अरु पदाधिकारी रिसले आगो भएको बताइन्छ ।
यसबारे जनआस्थासँग हिजोको कुराकानीमा शर्माले अनभिज्ञता प्रकट गर्दै भनिन्, ‘मलाई केही थाहा छैन, बुझेर भन्छु।’ शर्मालाई आज पुनः सम्पर्क गरेर ‘थाहा पाउनुभयो त?’ भनेर सोधिएकोमा एक्कासी झर्किँदै भनिन्, ‘कसले के गर्छ, पछि पछि लागेर हेर्ने मेरो काम हैन!’
माओवादीको कोटाबाट प्राज्ञ परिषद सदस्य बनेका सापकोटाको उक्त हर्कत सार्वजनिक भएपछि गत मंगलबार नै पार्टी निकट जनसांस्कृतिक महासंघका पदाधिकारीहरू प्रतिष्ठानमा पुगेर घटनाबारे अनुसन्धान गर्नुपर्ने माग गरेका थिए । आफ्नो संगठनबाट सिफारिस भएका व्यक्तिको हर्कतले सांस्कृतिक विचलन फैलाएको भन्दै उनीहरूले कारबाहीको माग गरेका हुन् । प्रतिष्ठानका एक पदाधिकारी भन्छन्, ‘उहाँ (सापकोटा) को विषयबारे छलफल भएकै हो, तर कुलपतिज्यूले चासो देखाउनुभएन, चासो नदेखाउनुको कारण अलि रहस्यमय छ ।’
उता नेपाल संगीतकार संघका पूर्व अध्यक्ष समेत रहेका सापकोटाले भने दोहोरी साँझलाई ‘स्क्रिप्टेड’ विज्ञप्ति सार्वजनिक गर्न लगाएर हाँस्यास्पद कदम चालेका छन्। भिडियोसहितको समाचार सार्वजनिक भएपछि निरमाया दोहोरी साँझले एक विज्ञप्ति जारी गर्दै सापकोटाको हर्कतलाई ‘लागूऔषधसम्बन्धी जनचेतनामूलक भिडियो’ को सुटिङ भनेको छ । तर विज्ञप्तिमा दाबी गरिएजस्तो भिडियोमा भने कुनै सुटिङ गरिएको देखिँदैन।
सापकोटा मदिराले मात्तिएर दोहोरी साँझका कर्मचारीसँग झगडा गरेको, जुत्ता–मोजा खोलेर भुइँमा बसेको र उभिनै नसकेपछि उत्तानो परेर नाचेको प्रष्ट देखिन्छ। सापकोटाले त्यो दिन देखाएको हर्कतका अन्य भिडियोहरू पनि जनआस्थासँग सुरक्षित छ । सुटिङ भन्नुलाई अर्को नाटकीय कदम ठानिएको छ ।
विज्ञप्ति जारीपछि जनआस्थाले दोहोरी साँझका म्यानेजर युवराज लामालाई सम्पर्क गरेर घटनाबारे सोधेको थियो। तर उनले सुटिङबारे कुनै तथ्य प्रस्तुत गर्न सकेनन्। उनले घुमाउरो भाषामा सुटिङ नभई सापकोटाले मदिरा पिएर नै हर्कत देखाएको स्वीकारे ।
जनसांस्कृतिक महासंघ पनि सापकोटाको हर्कतप्रति सन्तुष्ट देखिँदैन । महासंघको टोलीले कुलपति शर्मासँग स्पष्ट रूपमा सापकोटामाथि अनुसन्धान र कारवाही माग गरेको थियो। तर शर्माले चासो नदेखाएपछि महासंघले सापकोटामाथि विभागीय कारवाही र अनुसन्धानको तयारी गरेको बताइन्छ । स्रोत भन्छ, ‘महासंघलाई पनि उहाँले सुटिङ हो भनेर दाबी गर्नुभएछ, तर तथ्य सार्वजनिक भइसकेको पृष्ठभूमिमा त्यो केटाकेटीले गरेको कुराजस्तै हो भन्ने पदाधिकारीको बुझाइ छ।’
जनवादी कलाकार भनिएका प्राज्ञ परिषद सदस्य सापकोटाले प्रतिष्ठानको गरिमा र सम्मानमा आँच आउने हर्कत देखाउँदै हिँड्दा पनि जिम्मेवार पदाधिकारीहरु मौन बस्नुलाई रहस्यमय ठानिएको छ । सापकोटा यसअघि पनि विभिन्न काण्डमा मुछिएका पात्र हुन् । राजनीतिक शक्तिको पहुँचमा प्राज्ञ बनेका उनलाई मनोरञ्जन वृत्तमा कतिपयले ‘लेडी किलर’ को उपमासमेत दिने गरेका छन् ।
यो पनि...
पहिले ‘ब्याड टच’ को बात,दोहोरी साँझमा लाग्यो मात
टिप्पणीहरू