निजीमा धमाधम, सरकारीमा अभावै अभाव
फाइल फाेटाे
त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको नेपाल ल क्याम्पसमा बिएएलएलबी प्रवेश परीक्षाको नतिजा प्रकाशनमा ढिलाइले विद्यार्थीहरू मर्कामा परेका छन्।
निजी कलेजहरूले धमाधम नतिजा सार्वजनिक गरिसकेका छन् भने सरकारी क्याम्पसमा प्रवेश परीक्षाको परिणाम अझै टुंगिएको छैन।
भृकुटीमण्डपस्थित ल क्याम्पसमा १६० सीटका लागि भदौ १४ गते परीक्षा सम्पन्न भएको थियो। तर प्राविधिक कारण र डिन नहुँदा उत्तरपुस्तिका जाँच सुरु हुन सकेको छैन। त्रिविको परीक्षा नियन्त्रण कार्यालयका अनुसार, नयाँ डिन नियुक्त भएपछि मात्र नतिजा प्रकाशन सम्भव छ र सम्भावित रूपमा तिहारपछि मात्र नतिजा सार्वजनिक हुने छ।
परीक्षार्थीहरू असन्तुष्ट छन्। एकले भने, “परीक्षा दिएको एक हप्ता भइसकेको छ, तर अहिलेसम्म नतिजा आउन सकेको छैन। कार्यालयले तिहारपछि मात्र आउँछ भन्छ, तर जवाफ गैरजिम्मेवारपूर्ण छ।”
त्रिवि सूचना अधिकारी लिली थापा क्षेत्रीले कानुनसहित धेरै संकायमा डिन, परीक्षा नियन्त्रक र रजिष्ट्रारको अभाव रहेको बताइन्। “कसैको कार्यकाल सकिएपछि नयाँ नियुक्ति प्रक्रिया अझै चलिरहेको छ,” उनले भनिन्।
त्यसको विपरीत, निजी कलेजहरूले प्रवेश परीक्षा लिएका चार दिनभित्र नतिजा सार्वजनिक गरिसकेका छन्। भक्तपुरको काठमाडौं स्कुल अफ ल र पुतलीसडकस्थित हिमालयन ह्वाइटहाउस कलेजले परीक्षा सम्पन्नसँगै नतिजा प्रकाशन गरेका हुन्।
यो ढिलाइका कारण, ल क्याम्पसमा प्रवेश नपाएका विद्यार्थी अन्य कलेजमा भर्ना हुन सक्ने अवस्था छैन। यसले धेरैको शैक्षिक वर्ष गुम्ने जोखिम पैदा गरेको छ।
विशेषज्ञहरू भन्छन्, सरकारी क्याम्पसमा सुधार नभएसम्म विद्यार्थीहरू विदेश अध्ययनतर्फ झुक्ने क्रम बढ्नेछ। निजी कलेजमा शुल्क उच्च हुँदा, सरकारी क्याम्पस सुधार नहुँदा, विद्यार्थीहरूको भविष्य र उच्च शिक्षा प्रणालीमा नकारात्मक असर देखिन थालेको छ।
टिप्पणीहरू