प्रहरी हेडक्वार्टरबाट पनि ३ सय प्रहरी परिचालन,थप २ सयको तयारी
फाइल फाेटाे
सामाजिक सञ्जाल बन्दको विरोधमा आयोजित युवा प्रदर्शनलाई ध्यानमा राखेर व्यापक सुरक्षाकर्मी तैनाथ गरिएको छ । राजधानीमा सुरक्षा सतर्कता बढाउने क्रममा प्रहरी प्रधान कार्यालय,नक्सालले मात्रै २७६ जना प्रहरी सडकमा खटाएको छ ।
‘जेन जी’ पुस्ताका नाममा आज आह्वान गरिएको राजधानीको माइतीघर केन्द्रित आन्दोलनका लागि प्रहरी हेडक्वार्टरमा थप दुई सय प्रहरी तयारी अवस्थामा राखिएको बुझिएको छ । युवाहरुले सडक प्रदर्शनमा उत्रिने तयारी गरेपछि सुरक्षा निकायले सतर्कता अपनाएको हो ।
सशस्त्र प्रहरी बलले पनि ठूलो संख्यामा सुरक्षाकर्मी खटाएको छ । राष्ट्रिय अनुसन्धान विभागले पनि व्यापक रुपमा जनशक्ति परिचालन गरेको बताइन्छ ।
केही दिनदेखि ‘नेपो बेबी’ भन्दै सुरू भएको डिजिटल विरोध आज माइतीघरमा हुन लागेको हो । असंगठित युवाहरूको विभिन्न समूहले आह्वान गरेको सडक आन्दोलनलाई दुर्गा प्रसाईं, रास्वपालगायतले समर्थन गरेका छन् । त्यसैगरी विभिन्न राजनीतिक दलका छायाँमा परेका नेता, सोसल मिडिया इन्फ्लुएन्सर र कन्टेन्ट क्रिएटरहरूले समर्थन र प्रचार गरेको देखिन्छ ।
टिप्पणीहरू