काठमाडौंमा अनिश्चितकालीन, ललितपुरमा मध्यरातसम्म कर्फ्यू

काठमाडौंमा अनिश्चितकालीन, ललितपुरमा मध्यरातसम्म कर्फ्यू

जिल्ला प्रशासन कार्यालय काठमाडौँले चक्रपथ क्षेत्रभित्र कर्फ्यू लगाएको छ । आज बिहान साढे ८ बजेदेखि काठमाडौँको चक्रपथभित्र कर्फ्यू लगाइएको सूचना जारी गरिएको छ ।

काठमाडौँ महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै बागमति नदी पुलसम्मको चक्रपथ भित्रको सम्पूर्ण भू–भागमा अर्को आदेश नभएसम्मका लागि कर्फ्यू लगाइएको छ ।

त्यसैगरी ललितपुर जिल्ला प्रशासनले पनि ललितपुर महानगरपालिकाका केही क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ । ललितपुरमा बिहान ७ देखि राति १२ बजेसम्मका लागि कर्फ्यू लगाइएको छ ।

कर्फ्यूआदेशमा ललितपुर महानगरपालिकाका वडा नम्बर २, ४, ९, १८ र २५ भित्रका केही क्षेत्रलाई चारकिल्ला तोकी सो सीमाभित्र कुनै व्यक्तिले आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउजस्ता गतिविधि गर्न नपाइने व्यवस्था छ ।

भैँसेपाटी क्षेत्रको वडा नम्ब ४, १८ र २५ अन्तर्गत पूर्वमा भैँसेपाटीबाट बुङ्गमती जाने सडक, पश्चिममा सिजी हाउजिङ तथा चोभार गल्छी सडक, उत्तरमा गायत्री पेट्रोलपम्पभन्दा तलको विष्णुदेवी मन्दिर, दक्षिणमा इटनी जाने ओह्रालोसम्म ।

सानेपा क्षेत्रको वडा नम्बर २ मा पूर्वमा सानेपा चोकबाट इन्द्रायणी मन्दिरसम्मको पक्की सडक, पश्चिममा बल्खु पुलदेखि मनमोहन पार्कसम्म बागमती करिडोर सडक, उत्तरमा बल्खु पुलदेखि सानेपा चोकसम्मको चक्रपथ सर्भिस लेन, दक्षिणमा इन्द्रायणी मन्दिरबाट बागमती करिडोर जाने पक्की सडकसम्म ।

च्यासल वरपर वडा नम्बर ९ मा पूर्वमा मनोहरा खोला करिडोरको झोलुङ्गे पुल, पश्चिममा च्यासल रङ्गशाला, उत्तरमा मनोहरा खोला, दक्षिणमा मल पोखरी जाने बाटोसम्म कर्फ्यू लगाइएको हो ।

टिप्पणीहरू