भ्रामक समाचार नपत्याउन हिमालय एयरलाइन्सको आग्रह
हिमालय एयरलाइन्सले पछिल्लो समय सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत प्रसारित केही समाचार असत्य र भ्रामक रहेको जनाउँदै सर्वसाधारणलाई भ्रममा नपर्न आग्रह गरेको छ । एअरलाइन्सले संयुक्त अरब इमिरेट्सको दुबई उडान नियमित तालिकाअनुसार नै सञ्चालन भइरहेको स्पष्ट पारेको छ ।
‘प्रचारमा आएका हल्ला र अफवाहमा कुनै सत्यता छैन,’ विज्ञप्तिमा उल्लेख छ । अपुष्ट प्रचारमा विश्वास नगर्न र अप्रमाणित समाचार प्रचार–प्रसार नगर्न एयरलाइन्सले सबैलाई अनुरोध गरेको छ ।
एयरलाइन्सले विगतमा पनि कोभिड–१९ को समयमा उद्धार उडानमार्फत् आफ्नो राष्ट्रिय दायित्व पूरा गरेको स्मरण गराउँदै, आगामी दिनमासमेत राज्यलाई आवश्यक परे जस्तोसुकै सहयोग गर्न तयार रहने जनाएको छ ।
केही अनलाइन पोर्टलले स्रोतको हवाला दिँदै ‘प्रधानमन्त्री स्वास्थ्य उपचारको बहानामा दुबई उड्ने तयारी’ सम्बन्धी समाचार प्रकाशित गरेकामा कम्पनीले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
‘यस्ता भ्रामक र कपोकल्पित समाचारको भ्रममा नपर्न सबैमा अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ । हिमालय एयरलाइन्सले यात्रु सेवामा सधैं जिम्मेवार र दत्तचित्त भएर लाग्ने प्रतिबद्धतासमेत दोहोर्याएको छ ।


टिप्पणीहरू