सर्वोच्चमा २५ हजार मुद्दाका मिसिल खरानी,एक सय बढी गाडी ध्वस्त

सर्वोच्चमा २५ हजार मुद्दाका मिसिल खरानी,एक सय बढी गाडी ध्वस्त

जेन जीको नाम बदनाम गर्दै घुसपैठियाहरुले हिजो गरेको आगजनीबाट सर्वोच्च अदालतमा सुनुवाई प्रक्रियामा रहेका २५ हजार मुद्दाका सबै कागजात खरानी भएको छ । भ्रष्टाचारीमाथि कारबाही र सामाजिक सञ्जालमाथि प्रतिबन्धविरुद्ध निकालिएको अस्तिको प्रदर्शनमा १९ जनाको ज्यान गएको आक्रोशस्वरुप हिजो ऐतिहासिक महत्वको सिंहदरवारलगायत राजधानीका अधिकांश सरकारी भवनमा आगजनी गरिएको थियो ।

सो क्रममा आगो लगाउन पुगेको समूहका केहीले अदालतका सामान हात हातमा बोकेर लगेका थिए । आज बिहान अदालत सरसफाइमा पुगेका एकजना कर्मचारीका अनुुसार क्षतिलाई रकममा तुलना गर्नै सकिँदैन । ‘२५ हजार मुद्दाका फाइल एउटा पनि सग्लो छैन । कम्प्युटर,ल्यापटप सबै लगेका छन् । सुरक्षाकर्मीको हतियार पनि थुतेर लगे ।’

अर्कोतर्फ निश्चित मुद्दालाई प्रभाव पार्ने ध्याउन्नका साथ निश्चित अदालत,सरकारी वकिल कार्यालय र महान्यायाधिवक्ताको कार्यालयमा आगो लगाइएको छ । सर्वोच्च,काठमाडौं जिल्ला अदालत,बुटवल उच्च अदालत, दाङ इजलासलाई छानीछानी निशाना बनाएको देखिन्छ ।

‘२५ हजार मुद्दाका फाइल एउटा पनि सग्लो छैन । कम्प्युटर,ल्यापटप सबै लगेका छन् । सुरक्षाकर्मीको हतियार पनि थुतेर लगे ।’

सर्वोच्चमा प्रधानन्यायाधीश र  न्यायाधीशहरुको च्याम्बरसमेत जलेको छ । गाडी एक सयभन्दा बढी जलाइएको छ । प्रधानन्यायधीश चढ्ने गाडीमा आगो झोसेपछि हिजो ड्युटीमा संलग्न प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पछाडिको खाली ठाउँमा लुकेर ज्यान जोगाउनुभएको कर्मचारीहरु बताउँछन् ।

‘कर्मचारीको बाइक,गाडी पनि सबै भसक्कै पारे । हिजो कार्यालय आउँदा ल्याएका झोला,ब्याग,पैसा सबै लगेका छन्,’एक जना प्रत्यक्षदर्शी तथा पीडित कर्मचारीको अनुभव हो यो । यता सर्वोच्च प्रशासनले तत्काल इजलास बस्न नसक्ने जानकारी गराएको छ ।

अड्डामा कुनै कागजात नभएपछि अब तत्काललाई कोही पनि सर्वसाधारण अदालत जानुपर्ने अवस्था रहेन । उता, नख्खू कारागारबाट भगाइएका कैदीबन्दीलाई समेत अदालती प्रक्रियामा जानुनपर्ने भएकाले हाइसञ्चो भएको छ । हिजै नख्खूबाट निस्किएका रास्वपा सभापति रवि लामिछानेलाई कारागार कार्यालयले लेखेको पत्रलाई भने यसअघि सर्वोच्चका कर्मचारी महिमान सिंह बिष्टले प्रहरीलाई लेखेको पत्रसँग दाँजेर हेरिएको छ ।

बिहानै सर्वोच्च पुगेर सरसफाइमा जुटेका कर्मचारीहरुले रुँदै भनेका छन्, ‘भवन र परिसर खण्डहरमा परिणत भएको छ । सिंहदरबारजस्तो मुख्य प्रशासनिक भवन र सर्वोच्चमा आगो लाग्दा निभाउन सेना,प्रहरी,सशस्त्र,महानगरको दमकल कसैले पनि पहल गरेनन् ।’

टिप्पणीहरू