घण्टीका माननीयहरु फेरि कुरा फेर्ने घनचक्करमा
मौका परस्त कुरा गर्न सिपालु मानिने रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूले अहिलेको विषम राजनीतिक परिस्थितिमा पनि त्यस्तै दोधारे कुरा गरेका छन् ।
जेनजी आन्दोलन चर्किएसँगै सोमबार प्रतिनिधि सभाबाट सामुहिक राजीनामाको घोषणा गरेको सो पार्टीका सांसदहरूले अहिले भने फरक-फरक कुरा गर्न थालेका छन् । काठमाडौँ महानगरका मेयर बालेन्द्र साहले राष्ट्रपति रामचन्द्र पौडेललाई संसद विघटन गर्न निर्देशन दिइरहेको सन्दर्भमा रविका माननीयहरू प्रष्ट दुई कित्तामा उभिएको देखिन्छ ।
काठमाडौँ-२ की सांसद सोबिता गौतमले संसद विघटन हुँदा नेपाली जनतामा निहीत रहेको सार्वभौम सत्ता र राजकीय सत्ता संकटमा पर्ने भएकाले त्यसो गर्न नपाइने बताएकी छन् । मौजुदा संसदबाटै समस्याको समाधान खोज्न सकिने उपयसमेत उनले सुझाएकी छन् ।
अहिलेको व्यवस्थाबाट भ्रष्टाचारीलाई दण्डित गर्न सकिने भन्दै गौतमले जनताको सर्वोच्चता संकटमा पार्नेगरी संसद विघटनतर्फ मुलुकलाई लैजान नहुने स्पस्ट पारिन् । भन्छिन्, 'भ्रष्टाचारीको विरूद्ध म जति कटिबद्ध छु,नेपालको यो व्यवस्था बचाउन पनि त्यत्तिकै अडिग छु ।'
जान्नेलाई छान्ने भनिएको सो पार्टीकी अर्की सांसद तोशिमा कार्कीले भने संसद विघटनको पक्षमा बोलेकी छन् । राजनीतिलाई थप उन्नत बनाउन संसद विघटन गर्नुपर्ने तर्क उनको छ ।
त्यस्तै, अर्का सांसद शिशिर खनालले पनि व्यवस्था संकटमा पर्न लागेको भन्दै संसद विघटन गर्न नहुने आशय व्यक्त गरेका छन् । जेनजी आन्दोलनपछि उत्पन्न अन्यौलताले लोकतन्त्र समाप्त हुने संशय पैदा भएको उनको भनाइ छ ।
जेनजी आन्दोलनको आडमा जेलबाट फुत्किएका सो पार्टीका सभापति रवि भने यसबारे खासै बोलेको सुनिएको छैन । सहकारी काण्ड लागेपछि सांसद पदबाट निलम्बनमा परेका उनकै निर्देशनमा सांसदहरूको राजीनामा घोषणा गराइएको भनिएको थियो।
टिप्पणीहरू