चार रात घरमा सुतेपछि रविको माग -‘सुब्बादेखि माथिका सबैले जाँच दिनुपर्छ’
सहकारी ठगीसम्बन्धी मुद्दामा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्वेच्छाले जेल जानुअघि केही माग अघि सारेका छन् । आज जन्मदिनको उपहारस्वरूप आफैंलाई कारागार पठाउने निर्णय गरेको सुनाउँदै जेन जी आन्दोलनका कारण असुरक्षा देखाएर मंगलबार आफूलाई नख्खू कारागारबाट छोडिएको उनको दावी छ ।
हिजो गठित नयाँ सरकारले २०४६ सालपछि नीतिगत तहमा रहेका तथा उच्चपदस्थ व्यक्तिहरूका सम्पत्ति सम्बन्धी निर्णयहरूको पूर्ण छानबिन गर्नुपर्ने,देशका सबै निकायमा गरिएका राजनीतिक नियुक्ति एकै निर्णयबाट रद्द हुनुपर्ने,कर्मचारीदेखि न्यायपालिकासम्मको पुनर्नियुक्ति प्रक्रियालाई तत्काल खोल्ने र सुब्बादेखि न्यायाधीशसम्म सबैले जाँच दिनुपर्ने उनको जोडदार माग छ ।
त्यस्तै विश्वविद्यालयहरूमा गरिएको राजनीतिक नियुक्ति तुरुन्त खारेज गरी मेरिटोक्रेसी स्थापना गर्नुपर्ने,सम्पूर्ण राजदूतहरूको नियुक्तिमा समेत सोही विधि लागू गर्न प्रधानमन्त्री सुशीला कार्कीसँग माग गरेका छन् ।
उनले पार्टीका अन्य नेताबीच प्रतिस्पर्धा रहेको संकेत गर्दै पार्टी कब्जा गर्न होइन, पार्टी बनाउनतिर लाग्न आग्रह गरेका छन् । जेलबाट बाहिर निकालिएको बेला उनी भित्रिएको विवाद र ‘चिठी’ सम्बन्धी वैधानिकतालाई लिएर आएका विचारलाई गलत भनेका छन् । आफ्नो कारणले गृह सचिव र जेलरलाई अप्ठेरो पार्न नचाहेको उनको अचम्मको दावी छ । जबकी नख्खू जेलरले हिजै लामिछानेलाई भीडले फेक पत्र बनाएर जबर्जस्ती निकालेको बताइसकेका छन् ।
टिप्पणीहरू