त्यो देखेर प्रधानमन्त्रीले भन्नुभयो- अपराधीहरुले साह्रै बिध्वँश गरेछन्
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शीतल निवासमा अस्ति राति पद तथा गोपनीयताको शपथ लिनुभएकि प्रधानमन्त्री सुशीला कार्कीले आज पद बहाली गर्दै हुनुहुन्छ । त्यसअघि हिजो अपरान्ह उहाँ राजधानीका अस्पतालमा रहेका घाइते लाई भेट्न पुग्नुभयो । सोही क्रममा प्रहरीका क्षतिग्रस्त केही कार्यालय र वृत्तको पनि निरीक्षण गर्नुभयो ।
मीनभवनस्थित सिभिल अस्पताल पुगेर एकजना खाइलाग्दो लक्का जवानलाई भन्नुभयो, ‘आफूलाई हान्ने त्यसको बंगारा झार्नुपर्थ्यो नि !’
प्रधानमन्त्री हिजै महाराजगञ्ज चक्रपथस्थित आगलागीबाट ध्वस्त प्रहरी वृत्तको निरीक्षणमा जानुभयो । गत मंगलबार आन्दोलनकारीको निशानामा परेका त्यहाँका केही प्रहरीको ज्यान गएको छ । वृत्तको भग्नावशेष नियालेपछि दयनीय अवस्थामा रहेका प्रहरीलाई सान्त्वना दिँदै भन्नुभयो, ‘अपराधीहरुले यस्तोसम्म गरेछन् । सबै बदमास छन् ।’
आन्दोलनकारीको अपराध असहनीय रहेकोतर्फ इङ्गित गर्दै उहाँले न्यायालय जलाइएका र च्याम्बरहरु लुटिएका कारण न्यायाधीशहरुसँग इजलासमा बस्दा लगाउने कालो कोट नभएको वास्तविकता पनि सुनाउनुभयो । किनभने गत मंगलबारको आगजनीमा सर्वोच्च,जिल्ला र विशेष अदालतमा झुण्डाइएका न्यायाधीशका कोट,कम्प्युटर र ब्यागसमेत चोरी लगेका थिए ।
ध्वस्त प्रहरी चौकी,पोष्टको निर्माण तथा मर्मतबारे भने उहाँले कुनै आश्वासन नदिएको बुझिन्छ । ‘चौकी,प्रहरी कार्यालय बनाउनेवारे प्रधानमन्त्री मौन देखिनुभयो’ स्रोत भन्छ,‘बरु स्थानीय तहहरुले सहयोग गर्ने वचन दिन थालेका छन् । स्वतःस्फूर्त रुपमा पुनर्निर्माण गर्न स्थानीयहरु पनि सक्रिय हुन थालेका छन् ।’


टिप्पणीहरू