जताततै लागूऔषध, दर्जनौं कारोबारी पक्राउ

जताततै लागूऔषध, दर्जनौं कारोबारी पक्राउ

सुनसरीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । कोशी गाउँपालिका–१, लौकही बजार चोकबाट खैरो हेरोइनसहित प्रहरीले उनीहरुलाई समातेको हो । पक्राउ पर्नेमा बराहक्षेत्र नगरपालिका–१, चतराका ३१ वर्षीय सनम श्रेष्ठ र कञ्चनपुरको भीमदत्त नगरपालिका–६, बस्ने २० वर्षीया निरा चुनारा छन् । 

इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको टोलीले उनीहरुलाई १४ ग्राम २४० मिलिग्राम खैरो हेरोइनसहित नियन्त्रणमा लिएको जनाइएको छ । यस्तै, रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–३, खारनेटाबाट पनि एक सय ६० मिलिग्राम ब्राउनसुगरसहित दुई जना समातिएका छन् । 

स्थानीय २८ वर्षीय शिशिर डाँगी र २१ वर्षीय जीवन खड्का पक्राउ परेका हुन् । प्रहरी चौकी झुल्नेटाबाट खटिएको टोलीले शिशिरको घर खानतलास पर्दा ब्राउनसुगर भेटिएको हो । त्रिवेणीकै वडा नम्बर ६, बिसौनीबाट लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्रेको छ । 

वडा नम्बर ४, बस्ने २२ वर्षीय रमेश कार्की, वडा नम्बर २ बस्ने २० वर्षीय दिपु बोहोरा र वडा नम्बर ३, का ३० वर्षीय कमल पुन समातिएका हुन् । उनीहरुको साथबाट प्रहरीले सात सय ४० मिलिग्राम ब्राउनसुगर र ७० ट्याब्लेट ट्रामाडोल बरामद गरेको छ । 

उता, कैलालीको धनगढी र दाङको घोराहीमा पनि लागूऔषधसहित पाँच जना प्रहरी फन्दामा परेका छन् । धनगढी उपमहानगरपालिका–३, बडराबाट स्थानीय २२ वर्षीय शम्शेर शेख पाँच सय ३० मिलिग्राम ब्राउनसुगरसहित समातिएका हुन् । यस्तै, घोराही उपहानगरपालिका–१७, समाज सेवा टोलबाट पनि पाँच सय ६० मिलिग्राम ब्राउनसुगर र दुई हजार रुपैयाँसहित चार जनालाई प्रहरीले पक्रेको छ । 

पक्राउ पर्नेहरुमा सोही उपमहानगर–४, का २१ वर्षीय सुदर्शन पुन, वडा नम्बर १५, बस्ने २५ वर्षीय शैलेश शाह, वडा नम्बर १७, का २५ वर्षीय आलोक योगी र २३ वर्षीय स्टारजन रोका छन् । पक्राउ परेका सबैमाथि सम्बन्धित प्रहरी कार्यालयमा अनुसन्धान जारी रहेको जनाइएको छ ।

टिप्पणीहरू