दुबै नेत्रीको ओलीलाई आग्रह-राजीनामा दिनुहोस्

दुबै नेत्रीको ओलीलाई आग्रह-राजीनामा दिनुहोस्

नेकपा (एमाले)का दुई महिला नेतृहरूले अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा दिएर पार्टी जोगाउन आग्रह गरेका छन् । 

अस्तिदेखि शुरु भएको केन्द्रीय कमिटी बैठकको आज तेस्रो दिन धारणा राखेका सदस्यद्वय उषाकिरण तिम्सिनाले र इश्वरी घर्तीले ओलीकै नेतृत्वमा पार्टीलाई अगाडि बढाइए थप क्षति व्यहोर्नुपर्ने भन्दै सचेत गराए । जनतामा पार्टी नेतृत्वप्रति खराब छवि स्थापित भइरहेको बेला सम्मानपूर्वक राजीनामा दिएर सकारात्मक सन्देश दिन तिम्सिनाले आग्रह गरिन् ।

‘यो जेनजी आन्दोलनको एउटा जबरजस्त माग पार्टीका टेस्टेड नेतृत्व र पुस्ताले बिदा लेऊ भन्ने नै हो, त्यसलाई अनदेखा गर्न अब सकिन्न’, बैठकमा उनले भनिन्, ‘यही संरचना लिएर चुनाव वा आन्दोलनमा जानै सकिँदैन कमरेड, यहाँले बिदा लिएर अभिभावक बन्नेबित्तिकै देशभर सकारात्मक सन्देश जानेछ ।’

पार्टीले व्यवसायी मीनबहादुर गुरुङबाट अबौँ चन्दा लिएकोमा प्रश्न उठाउँदा ६ महिनाको निलम्बन भोगेकी उनले अब उक्त सहयोग फिर्ता गर्नुपर्ने समय आएको पनि बताइन् । ‘अन्यथा नलिनुहोला, मीनबहादुर गुरुङको सम्पत्तिमाथि हमला भयो, क्षति भयो, त्यसैले अब पार्टीले पनि सहयोग फिर्ता गर्ने निर्णय गर्नुपर्छ’, तिम्सिनाको भनाइ थियो ।  

केन्द्रीय सदस्य घर्तीले पनि जनताभन्दा माथि नेतृत्व नहुने भन्दै ओलीलाई सम्मानपूर्वक बिदा हुन आग्रह गरिन् । आत्मसमीक्षा गरेर अघि बढ्न नसके अर्को क्षति भोग्नुपर्ने चेतावनी उनले दिएकी छन् ।

‘अध्यक्ष कमरेडले पार्टीको वर्तमान अवस्थाबारेको सत्य र यथार्थतालाई स्वीकार गर्दै अघि बढ्नु आवश्यक छ, जनताभन्दा माथि राजनीतिक दल हुन सक्दैन’, घर्तीले बैठकमा भनिन्, ‘विगतदेखि नै हाम्रा व्यक्तिगत र संस्थागत आचरणमा सुधार गर्न सकेनौं, यसैको विस्फोट अहिलेको अवस्था हो भन्ने कुरा हामीले स्वीकार्नुपर्छ ।’

विघटित प्रतिनिधिसभा सदस्यसमेत रहेकी उनले यथार्थता भन्दा बेग्लै रिपोर्टिङ नगर्न ओलीका सल्लाहकारहरूलाई पनि सचेत गराईन् । भनिन्, ‘कथित सल्लाहकारहरूले पार्टी नेतृत्वलाई सीमित घेराभित्र पार्ने प्रवृत्ति, यथार्थता भन्दा बेग्लै रिपोर्टिङ र गलत सूचना दिई भ्रम फैलाउँदै आएका कारण पार्टीका ईमान्दार र देशभक्त कार्यकर्ताहरुको मनोबल खस्किएको छ ।’

घर्तीले कथित् सल्लाहकार भनेर उपमहासचिव विष्णु रिमालतर्फ संकेत गरेकी हुन् । ओली हरेकचोटि प्रधानमन्त्री हुँदा प्रमुख राजनीतिक सल्लाहकार बनेर बालुवाटार छिर्ने गरेका रिमालमाथि भूगोलको यथार्थमा भन्दा ल्यापटपमा निकालेको हिसाब देखाएर निर्णय गराउने गरेको पार्टीभित्रै आरोप छ । 

भदौ २३ को जेन जी प्रदर्शन र भोलिपल्टको विध्वंसमा पनि प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई उनले सही सल्लाह दिन नसकेको अधिकांश कार्यकर्ताको बुझाइ छ । २४ गते अन्तिम घडीमा राजीनामा दिएर ओली एक्लै हेलीकोप्टरमा भागेपछि बालुवाटारमै अलपत्र परेका र पछि प्रहरी हेडक्वाटरको शरणमा ज्यान जोगाएका रिमाल त्यसयता पार्टीपंतिमा खुलेर प्रस्तुत हुन सकेका छैनन् । जारी केन्द्रीय कमिटी बैठकमा भने उनको उपस्थिति रहेको छ ।

टिप्पणीहरू