सरकार चलाउने रामचन्द्रले कि सुशीलाले ?

सरकार चलाउने रामचन्द्रले कि सुशीलाले ?

अन्तरिम सरकारको औपचारिक नेतृत्व प्रधानमन्त्री सुशीला कार्कीको हातमा भए पनि हालैका राजनीतिक र प्रशासनिक गतिविधिले वास्तविक कार्यकारी शक्ति राष्ट्रपति रामचन्द्र पौडेलमा रहेको भान पर्न थालेको छ । सुरक्षा निकाय र राजनीतिक दललाई निर्देशनदेखि सर्वदलीय छलफलसम्मका पहल स्वयं राष्ट्रपतिबाट भइरहनुले कार्यकारी भूमिकामा आखिर को छन्, प्रधानमन्त्री कि राष्ट्रपति ? भन्ने प्रश्न उठेको छ ।

हिजो शीतल निवासमा राष्ट्रपति पौडेलले प्रधानमन्त्री कार्कीसहित मन्त्रीहरू र चारै सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर आगामी निर्वाचन भयरहित, निष्पक्ष र स्वतन्त्र वातावरणमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ । उहाँले भदौ २४ गते लुटिएका हतियार र भागेका कैदी तुरुन्त फिर्ता गर्न र सुरक्षा निकायलाई जिम्मेवार र सशक्त ढंगले प्रस्तुत हुन निर्देशनसमेत दिनुभएको छ ।

आम नागरिक र राजनीतिक दललाई शान्ति सुरक्षाको भरोसा जगाउन सुरक्षा संयन्त्र सक्रिय हुनुपर्ने उहाँको भनाई छ । 

लगातारका यस्ता क्रियाकलापले अहिलेको शक्ति–सन्तुलनमा स्पष्ट प्रश्न उठाएको छ, संविधानले कार्यकारी अधिकार प्रधानमन्त्रीलाई दिएको भए पनि व्यवहारमा निर्णयकर्ता को ? रामचन्द्र कि सुशीला ?

प्रधानमन्त्री कार्कीले सरकारले निष्पक्ष निर्वाचनका लागि कुनै कमी नराख्ने, आवश्यक सबै स्रोत–साधन उपलब्ध गराइने र सुरक्षा निकायसँग पूर्ण सहकार्य हुने बताउनुभएको छ । तर राष्ट्रपति स्वयमले यस्तो कार्यक्रम आयोजना गरेर निर्देशन दिने भूमिका लिएको देखिनुले राजनीतिक वृत्तमा नयाँ चर्चा शुरु भएको हो ।

यसअघि पनि प्रधानमन्त्रीको सट्टा राष्ट्रपति पौडेलले नै शीतल निवासमा सर्वदलीय बैठक आयोजना गर्नुभएको थियो । प्रधानमन्त्रीबाट राजनीतिक संवादमा चासो कम देखिएपछि राष्ट्रपति सक्रिय हुनुभएको विश्लेषण छ । लगातारका यस्ता क्रियाकलापले अहिलेको शक्ति–सन्तुलनमा स्पष्ट प्रश्न उठाएको छ, संविधानले कार्यकारी अधिकार प्रधानमन्त्रीलाई दिएको भए पनि व्यवहारमा निर्णयकर्ता को ? रामचन्द्र कि सुशीला ?

टिप्पणीहरू