यस्तो गल्ती किन गरेको एआइजी साहेब ?
नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) चन्द्रकुवेर खापुङ्ग यही कात्तिक २७ गतेदेखि अवकाशमा जाँदैछन् । उनी घर जाने दिन नजिकिएसँगै नयाँ आइजिपीको चर्चा शुरु भएको छ । आइजिपी बन्ने सूचीको पहिलो नम्बरमा छन्,दानबहादुर कार्की । त्यसपछि क्रमशः डा.मनोज केसी,राजन अधिकारी र सिद्धिविक्रम शाह रहेका छन् ।
आइजिपी बन्ने दौडमा रहेका एकाध अधिकृतको विवादास्पद बिगतले प्रहरी संगठनको छविमै दाग लाग्ने जोखिम बढेको छ । तिनैमध्ये एक हुन्,एआइजी अधिकारी । उनी हाल प्रहरी प्रधान कार्यालयको मानव स्रोत विकास विभागमा कार्यरत छन् । प्रहरीमा जागिर खाएपछि विभिन्न विवादमा मुछिएका उनीमाथि आफ्नै परिवारभित्रको केस हेरेको गम्भीर आरोप पनि छ ।
उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा हुँदा राजश्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीले जोडेको अकुत सम्पत्तिमाथि छानबिन गरेका थिए । झलकरामको सम्पूर्ण लेनदेनको हिसाबकिताब उदयपुर निवासी विकास चापागाईँसँग थियो । विकास एआइजी अधिकारीको आफ्नै साढुभाइ डिएसपी निशेष चापागाईँको सहोदर दाजु हुन् ।
आफ्नो परिवारका सदस्य जोडिएको मुद्दा हेर्न नमिल्ने कानुनी व्यवस्थाका बाबजुद उनले सो मुद्दामा अनुसन्धान गरेका थिए । जसका कारण विवादमा तानिए । उनी आफैंले अनुसन्धान गरिरहेको व्यक्तिमार्फत पदोन्नतिका लागि भनसुन गर्दै हिँडेको चर्चा पनि चलेको थियो ।
हाल तिनै विकासले झलकरामविरुद्ध प्रमाणसहित अख्तियारमा उजुरी हालेका छन् । प्रारम्भिक अनुसन्धानका क्रममा झलकरामको नाममा काटिएको ठूल्ठूला रकमको चेक भेटिएको छ । उनी छानबिनमा तानिएपछि एआइजी अधिकारी अप्ठेरोमा परेका छन् ।
टिप्पणीहरू