मादुरोका सैनिक कमाण्डरलाई पक्रन आदेश

मादुरोका सैनिक कमाण्डरलाई पक्रन आदेश

भेनेजुयलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोद्रिगेजले राष्ट्रपति निकोलस मादुरोको सुरक्षामा खटिएका मेजर जनरल हाभिएर मार्कानो ताबातालाई पक्रन आदेश दिएकी छन् । उपराष्ट्रपति रोद्रिगेजले अमेरिकी सेनाको आक्रमणअघि र सो क्रममा राष्ट्रपति मादुरो र प्रथम पत्नी सिलिया फ्लोरेसको सुरक्षाबारे सावधानी नअपनाएको बताउँदै उनीमाथि सैन्य कारबाही अघि बढाउन निर्देशन दिएकी हुन् ।

राष्ट्रपतिको सुरक्षा र सैन्य जासुसीमा नेतृत्व गर्दै आएका ताबाता र उनको टिमको अमेरिकी आक्रमणको जवाफी कारबाहीमा गम्भीर कमजोरी रहेको बताइएको छ ।

रोड्रिगेजले मार्कानो ताबताको ठाउँमा जनरल गुस्ताभो एनरिक गोन्जालेज लोपेजलाई नियुक्त गरेकी छन् । ताबातालाई पक्राउ गर्न आदेश दिइएकोबारे भेनेजुयला सरकारको आधिकारिक धारणा बाहिर आएको छैन । 

राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई गत शनिबार अमेरिकाले न्युयोर्क पुर्याएर विभिन्न आरोपमा अदालतमा उभ्याएको छ । तर मादुरोले अदालतसमक्ष अहिले पनि आफू भेनेजुयलाको राष्ट्रपति कायम रहेको र अमेरिकी आरोपमा कुनै सत्यता नरहेको दाबी गरेको प्राप्त समाचारमा जनाइएको छ ।
यसबीच भेनेजुयलामा राष्ट्रपतिको सुरक्षार्थ खटिएका विभिन्न बटालियनका १५ सैनिकको मृत्यु भएको जनाइएको छ । बटालियन नम्बर ६,स्क्वाड्रन ब्राभो र कस्टडी बटालियन नम्बर ३ का गरी १५ जना सुरक्षाकर्मी मारिएका थिए ।

त्यहाँको सुरक्षा स्रोतका अनुसार अमेरिकी सेनासँगको भिडन्तमा राष्ट्रपतीय सुरक्षा बटालियन नम्बर ६ का ८ जना,स्क्वाड्रन ब्राभोका २ जना र कस्टडी बटालियन नम्बर ३ का ५ जना सुरक्षाकर्मीको मृत्यु भएको थियो । मृतकहरूमा लेफ्टिनेन्ट,सार्जेन्ट,गार्ड हाउस तथा तालिमरत सुरक्षाकर्मीसमेत छन् । उनीहरू सबै राष्ट्रपतिको प्रत्यक्ष सुरक्षा र रणनीतिक संरचना सुरक्षामा खटिएका थिए ।

उक्त घटनाबारे भेनेजुएला सरकार र त्यहाँको रक्षा मन्त्रालयले विस्तृत विवरण सार्वजनिक गरिसकेको छैन ।

टिप्पणीहरू