मजबुत चिनियाँ अर्थतन्त्रमा एआईको व्यापक प्रयोग
चिनियाँ राष्ट्रपति सी जिनपिङले गत वर्ष मुलुकका विभिन्न उत्पादन क्षेत्रको चासोका साथ स्थलगत अध्ययन तथा निरीक्षण भ्रमण गर्नुभएको छ । सो क्रममा उहाँले नयाँ गुणस्तरीय उत्पादक शक्तिको विकास गर्ने प्रमुख दिशा र सम्भावित लक्ष्यहरूबारे स्पष्ट निर्देशन दिनुभएको छ ।
नयाँ गुणस्तरीय उत्पादक शक्तिहरू अघि बढाउने मुख्य चालकमध्ये कृत्रिम बौद्धिकता (एआई) को विकासलाई एक महत्वपूर्ण आधारका रूपमा लिइएको छ। चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा केन्द्रीय सैनिक आयोगका अध्यक्षसमेत रहनुभएका राष्ट्रपति सीले एआई विकासलाई उच्च प्राथमिकतामा राख्दै गत वर्षका धेरै स्थलगत भ्रमणमा यससम्बन्धी महत्वपूर्ण निर्देशनहरू दिनुभएको थियो ।
एआई विकास र नियमनमा जोड
सन् २०२५ को अप्रिलमा सीपीसी केन्द्रीय समितिको राजनीतिक ब्युरोले समूहगत अध्ययन बैठक आयोजना गरेको थियो । जसको मुख्य विषय कृत्रिम बौद्धिकताको विकास र नियमन सुदृढीकरणबारे थियो ।
उक्त बैठकमा चिनियाँ इन्जिनियरिङ एकेडेमीका शिक्षाविद् चङ नानिङको प्रस्तुतिमा एआई विकास र शासनसम्बन्धी सुझावहरू प्रस्तुत गरिएको थियो । गत वर्ष चीनसहित विश्वव्यापी रूपमा एआई क्षेत्रमा तीव्र विस्तार भएको बताइएको छ ।
बैठकका क्रममा राष्ट्रपति सीले एआई क्षेत्रमा प्रविधिगत नवप्रवर्तन, औद्योगिक विकास र प्रयोगात्मक सशक्तीकरणलाई एकीकृत रूपमा अघि बढाउनुपर्ने, नियामक प्रणाली तथा संयन्त्र सुधार गर्नुपर्ने र एआई विकास तथा शासनमा अग्रसरता कायम राख्नुपर्नेमा जोड दिनुभएको थियो ।
एआई विकासको स्थलगत अध्ययन
समूहगत अध्ययन बैठकको चार दिनपछि नै राष्ट्रपति सीले एआई विकासको स्थलगत अवलोकन गर्न भ्रमण सुरु गर्नुभयो । गत अप्रिलको अन्त्यतिर शाङ्घाई भ्रमणका क्रममा उहाँले शाङ्घाई फाउन्डेसन मोडेल इनोभेसन सेन्टर अवलोकन गर्नुभयो । १०० भन्दा बढी अत्याधुनिक प्रविधिमा संलग्न उद्यमको अवलोकन क्रममा भन्नुभयो, ‘एआई विकास चिनियाँ आधुनिकीकरण अघि बढाउने, देशलाई शक्तिशाली बनाउने र राष्ट्रिय पुनर्जागरणको महान लक्ष्य हासिल गर्ने हाम्रो प्रयासको हिस्सा हो। यसको आशा तपाईंहरूमा नै निहित छ।’
परम्परागत उद्योगको रूपान्तरण
उदीयमान उद्योग विकास र भविष्यका उद्योगबारे अग्रिम योजना बनाउनुका साथै राष्ट्रपति सीले परम्परागत उद्योगको रूपान्तरण र स्तरोन्नति मा पनि विशेष जोड दिनुभएको छ ।
चीनको वर्तमान उत्पादन संरचनामा परम्परागत उद्योगको हिस्सा ८० प्रतिशतभन्दा बढी रहेको छ । यसले आर्थिक स्थायित्व, रोजगारी र जनजीवनमा प्रत्यक्ष प्रभाव पारेको छ । राष्ट्रपति सीका अनुसार नयाँ गुणस्तरीय उत्पादक शक्तिहरू परम्परागत उद्योगको रूपान्तरण र स्तरोन्नतिबाट पनि विकास गर्न सकिन्छ।
गत वर्ष जनवरीमा उत्तरपूर्वी चीनको लियाओनिङ प्रान्तस्थित बेनस्टिल ग्रुपको निरीक्षणका क्रममा उहाँले इस्पात उद्योग देशको आधारभूत उद्योग भएको उल्लेख गर्नुभयो । त्यसैले त्यसमा रहेका कुनै कमजोर पक्षको सुदृढीकरण, औद्योगिक संरचना सुधार र चिनियाँ आधुनिकीकरणमा थप योगदान दिन आग्रह गर्नुभएको थियो ।
मे महिनामा मध्य चीनको हेनान प्रान्तस्थित लुओयाङ बियरिङ ग्रुप अवलोकन गर्दा उहाँले आधुनिक उत्पादन विज्ञान–प्रविधिको सशक्तीकरणमा आधारित हुने भन्दै मुख्य प्रविधिगत र आत्मनिर्भर नवप्रवर्तनको मार्ग अपनाउनुपर्नेमा जोड दिनुभएको सन्दर्भ समयसापेक्ष थियो ।
वास्तविक अर्थतन्त्रमा प्रतिबद्धता
राष्ट्रपति सीले चीनले सधैँ वास्तविक अर्थतन्त्रको विकास मार्ग अपनाउँदै आएको उल्लेख गर्दै भन्नुभएको छ, ‘पहिले सलाई, साबुन र फलाम आयातमा निर्भर देश आज विश्वकै सबैभन्दा ठूलो उत्पादन मुलुक बनेको छ । चिनियाँ आधुनिकीकरण साकार पार्न उत्पादन क्षेत्रलाई निरन्तर सुदृढ बनाउँदै स्वदेशमै उत्पादन प्रविधि गर्नु आवश्यक छ।’
गतवर्ष जुलाईमा उत्तर पश्चिम चीनको शान्सी प्रान्तस्थित याङछ्वान भल्भ कम्पनीको निरीक्षणका क्रममा उहाँले वास्तविक अर्थतन्त्र र परम्परागत उद्योगलाई बेवास्ता गर्न नहुने बताउनुभयो । प्रविधिगत नवप्रवर्तनमार्फत औद्योगिक रूपान्तरण र स्तरोन्नतिमा उहाँको जोड थियो ।
‘वास्तविक अर्थतन्त्रले देश विकास गर्छ र ठोस श्रमले समृद्धि ल्याउँछ। चिनियाँ आधुनिकीकरण साकार पार्न तपाईंहरूले इमानदार र निरन्तर प्रयास गर्नुपर्छ, ताकि जनताको जीवन अझ सुखी बनोस्,’ कम्पनी निरीक्षण क्रममा राष्ट्रपति सीले कामदारहरूसँगको कुराकानीमा उल्लेख गर्नुभएको हो ।
स्रोत : सिसिटिभी प्लस ।
टिप्पणीहरू