निजी क्षेत्र असुरक्षित, सुरक्षामा सरकार असफल

निजी क्षेत्र असुरक्षित, सुरक्षामा सरकार असफल

निजी क्षेत्रले औद्योगिक तथा व्यवसायिक क्षेत्रलाई बन्द–हड्तालमुक्त क्षेत्र घोषणा गर्नुपर्ने माग दोहोर्याएको छ। सिद्धार्थ उद्योग वाणिज्य संघको ६७औँ साधारण सभामा सहभागी निजी क्षेत्रका अगुवाहरूले हरेक राजनीतिक आन्दोलनमा उद्योग–व्यवसायलाई लक्षित गर्दै तोडफोड, आगजनी र लुटपाट हुने गरेको बताउँदै सरकार सुरक्षा दिन असफल भएको गुनासो गरेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले औद्योगिक तथा व्यवसायिक क्षेत्रलाई बन्द–हड्ताल निषेधित क्षेत्र घोषणा गर्न सरकारसँग माग गरिएको जानकारी दिए । उनले हरेक राजनीतिक आन्दोलन र परिवर्तनमा निजी क्षेत्रमाथि आक्रमण हुनु गलत प्रवृत्ति भएको बताए । ‘त्यसैले यस्तो कार्यमा पूर्ण रूपमा प्रतिबन्ध लगाइनुपर्छ,’ उनले भने ।

निजी क्षेत्रले ठूलो संख्यामा रोजगारी सिर्जना गर्नुका साथै राज्यको राजश्व संकलनमा महत्वपूर्ण योगदान पुर्याइरहेको अध्यक्ष ढकालको दाबी छ । त्यसैले राज्यले यस विषयमा गम्भीर भएर तत्काल निर्णय लिनुपर्ने उनको माग छ । जेन–जी विध्वंशका क्रममा तोडफोडमा परेका उद्योग–व्यवसाय धुलो टक्टक्याउँदै उठिरहेका बेला सरकारले भने पाल ओढाएर बस्ने नीति लिएकोमा व्यवसायीहरु दुःखी देखिन्छन् । निजी क्षेत्रप्रति राज्य स्वयम् पनि अनुदार हुँदै गएको ढकालको गुनासो छ । 

उनले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित सञ्चालनमा ल्याउन आफूले निरन्तर पहल गरिरहेको जानकारी दिए । सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित सञ्चालन गर्न, भैरहवामा निर्माणाधीन एकीकृत जाँचचौकीसम्म रेल–वे सेवा विस्तारको माग गरेका छन् । भैरहवालगायत सीमावर्ती नेपाली सहरहरूमा रात्रिकालीन बजारसहितको ‘मनोरञ्जनात्मक सहर’ विकास अवधारणा ल्याउनुपर्नेमा जोड दिए । 

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश अध्यक्ष दिलसुन्दर श्रेष्ठले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अवस्था देख्दा रुन मन लागेको टिप्पणी गरे । सरकारले यी विमानस्थल सञ्चालनमा पर्याप्त ध्यान नदिएकोमा उनको गुनासो छ ।

टिप्पणीहरू