जिम्मेवारी बाँडफाँडकाे ‘अनुपम’ नमूना !
काठमाडौंभन्दा ठूलो क्षेत्रफल भएको विराटनगर महानगरपालिकाले वातावरण इञ्जिनियरलाई फोहोरमैला शाखा पठाएर सिभिल इञ्जिनियरलाई वातावरणमा ल्याएको पाइएको छ । वातावरण विनाश दिनप्रतिदिन बढिरहँदा महानगरले वातावरण इञ्जिनियरलाई शाखाबाट हटाएर सिभिललाई ल्याएको हो ।
घरनक्सा शाखाका सिभिल इञ्जिनियर राकेश ठाकुरले वातावरण शाखाको जिम्मेवारी सम्हालिरहेका छन् । यता, वातावरण शाखाकै निम्ति भर्ती गरिएको वातावरण इञ्जिनियर सुदिच्छा कार्कीलाई कामविहिन बनाइएको छ । उनी पनि फोहोरमैला व्यवस्थापन शाखामा थन्किएकी छिन् ।
अति समसामयिक मुद्दा भएपनि वातावरणलाई उपेक्षा गरेको आरोप महानगरमाथि लागेको छ । महानगरले साना, मझौला र ठूला भौतिक पूर्वाधारहरुको वातावरण प्रभाव मूल्याङ्कन गर्ने, प्रतिवेदन स्वीकृत गर्ने, शहरमा हरियाली बढाउने योजनाहरु कार्यान्वयन गर्छ । जथाभावी स्थापना भएका र हुन थालेका व्यापारिक मल, अस्पताल, भवन, उद्योग आदिको दर्ताअघिको अवस्था हेर्ने वातावरण इञ्जिनियरले हो ।
यसबाहेक वातावरण कार्यमा संघीय र प्रदेशका कार्यविधिहरु पालना गराउने जिम्मा पनि सोही शाखाको हो । महानगरका घर, टोल पुगेर वातावरणबारे जनचेतना अभिवृद्धि गराउने, वातावरणमैत्री वडा र टोल घोषणा गर्ने काम शाखाको हो । वातावरण विनाश र नियम उल्लंघन भएर प्रतिकूल प्रभाव परेको भनि आएको उजुरीमाथि अनुगमन र कारबाहीको अधिकार पनि शाखालाई छ ।
वातावरण क्षेत्रको महत्वपूर्ण जिम्मेवारी बोकेको शाखाका इञ्जिनियरलाई फोहोरमैलाझैं डम्पिङ बनाएर राख्नुमा महानगरका पदाधिकारीहरुको स्वार्थ रहेको कर्मचारीहरुको जिकिर छ ।
टिप्पणीहरू